कला

प्रदर्शनीमा जीवनको उतारचढाव

काठमाडौं – चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भइरहेको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन्।

प्रदर्शनीमा राखिएका चित्रहरूमा उनले जीवनका विभिन्न महत्वपूर्ण क्षणहरू प्राथमिकता दिएकी छन्। ‘प्रदर्शनीमा राखिएका चित्रकलामा मैले जीवनकालमा पार गरेका विभिन्न महत्वपूर्ण क्षणहरूलाई प्राथमिकता दिएको छु। यसलाई मैले जीवनको उपलब्धीहरूको संग्रह भन्ने रुचाउँछु,’ उनले भनिन्।

यो उनको तेस्रो एकल चित्रकला प्रदर्शनी हो। प्रदर्शनीमा विम्वात्मक शैलीका चित्रहरूले विभिन्न कालखन्डलाई जोड दिएको उनले बताइन्। ‘मैले जीवनमा विभिन्न अनुभवहरू संगालेको छु। त्यहीलाई आधार बनाएर तयार गरिएका विम्वात्मक शैलीका चित्रहरूले उत्तर खोज्ने प्रयास गरिरहेको छ,’ उनले भनिन्, ‘संसारमा मानिसको जन्मसँग उनले जीवनकालमा सफलता प्राप्त गर्न प्रतिस्पर्धा गरिरहेको हुन्छ। जीवन सुन्दर छ भन्ने भावले मलाई चित्रकला कोर्न प्रोत्साहित गरिरहन्छ। जन्मदेखि मृत्युसम्म मानिसले जीवनका अनुभव गरेको भोगाइहरू क्यानभासमा उतार्न सहज भने नभएको अनुभव उनले सुनाइन्।

प्रदर्शनीमा उनले जन्मअघिको अवस्थादेखि बाल्यकाल जीवनमा विभिन्न परिस्थितिलाई समावेश गरेर २७ वटा चित्रकलासहित नौ प्रतिस्थापन कला राखेकी छन्। खराब स्वास्थ्य अवस्थाको चरण, अध्ययन, विवाह, सन्तानको जन्म र पारिवारिक स्थितिलाई आर्ट काउन्सिलको विभिन्न कुनामार्फत प्रस्तुत गरेकी छन्। ‘आर्ट काउन्सिलभित्रको विभिन्न कुनालाई जीवनको चरणसँग तुलना गरेकी छु। बाल्यवस्था, युवाअवस्था, पुर्नजन्म, विवाह र जीवनका आरोह–अवरोहलाई मैले फर्किएर हेर्ने प्रयास गरेको हुँ,’ उनले भनिन्,‘यसलाई म कला अभिव्यक्ति भन्न रुचाउँछु। कारण हाम्रो जीवनअघि र मृत्युपछि अन्धकारको अवस्था हुन्छ। म जन्मिनुअघि र जीवनका विभिन्न उतारचढावहरूलाई फर्केर हेर्ने प्रयास गरिरहेको छु।’

प्रदर्शनीमा उनले प्रतिस्थापन कलामार्फत बाल्यकालको स्मरण गरेकी छन्। बाल्यकालमा खेलेको रमाइलो खेललाई उनले आफ्नै शैलीमा सम्झिने प्रयास गरेकी छन्। विवाहसँग हिन्दु परम्पराअनुसार महिलाहरूलाई दिइने सौभाग्यवतीप्रति उनले आश्यर्च व्यक्त गरेकी छन्। विवाहपछि अन्यौलताका कारण दुई वर्ष डिप्रेसनको सिकार भएकी उनीले प्रदर्शनीमा रातो साडीलाई झुन्डाएर प्रस्तुत गरेकी छन्। स्वास्थ्यका कारण रंगबाट टाढा बस्नुपर्ने अवस्था सिर्जना भएसँगै उनी विगत ११ वर्षदेखि डिजिटल कलाका केन्द्रित भएकी थिइन्। करिब डेढ वर्षको अन्तरालमा उनले चित्रकलाहरू तयार गरेकी थिइन्। प्रदर्शनी आगामी फागुन १२ सम्म चल्नेछ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०२:४० आइतबार

प्रदर्शनी चित्रकार