कला

पञ्चेवाजाको राग संरक्षणका लागि वाजागाजा वितरण

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका परियार समुदायलाई पञ्चेवाजा वितरण गरिएको छ। लोपोन्मुख बनेको पञ्चेवाजा र यसको राग संरक्षणका लागि वडा कार्यालयले चालु आर्थिक वर्ष विनियोजित एक लाख बजेटबाट पञ्चेवाजा खरिद गरेर स्थानीय परियार समुदायलाई वितरण गरेको हो। पञ्चेबाजा बजाउने पुर्खाको अन्त्यसँगै पञ्चेवाजा बजाउने जनशक्तीकै अभाव हुन थालेपछि एकजोर सनाई, एक जोर नरसिंगा, धोलकी, ट्याम्को, झ्याम्टा हस्तान्तरण गरिएको वडाध्यक्ष चईन्द्र राईले बताए।

उपभोक्ता समितिमार्फत खरिद गरिएको पञ्चेवाजाको सेट बिहीबार वडा कार्यालयमा वडाध्यक्ष राईले परियार समुदायलाई हस्तान्तरण गरेका छन्। पछिल्लो समय विभिन्न चाँडवाँडका समयमा हलेसी मन्दिरमा पञ्चेवाजा बजाउने जनशक्तीकै अभाव हुन थालेको तथ्यलाई ध्यानमा राखेर पञ्चेवाजा प्रदान गरिएको वडाध्यक्ष राईले बताए।

‘पञ्चेवाजाको ३६ वटा राग हुन्छन् रे। हाल तीन/चार राग मात्र बजाइन्छन् रे,’ वडाध्यक्ष राईले भने, ‘पञ्चेवाजा बजाओस् र आफ्नो सन्तानलाई पनि सिकाएर लोपोन्मुख बनेको धुनलाई संरक्षण गरोस् भनेर वाजागाजा प्रदान गरिएको हो।’

हलेसी मन्दिरमा पञ्चेवाजा बजाउनका लागि नियुक्ती गरिएका नगर्चीले गाउँबाट पञ्चेवाजा ल्याएर बजाउने गरेका छन्। नगर्चीले भनेको बेलामा उनीहरुले त्यही पञ्चेवाजासहित आएर मन्दिरमा बजाउन सक्ने जनाइएको छ।

महाशिवरात्रीका दिन बजाउने गरि परियार समुदायलाई पञ्चेवाजा प्रदान गरिएको हो। लोपोन्मुख बनेको राग संरक्षणका लागि सबै राग बजाउन जान्ने बुढापाकालाई राखेर प्रशिक्षण नै सञ्चालन गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०९:०४ शुक्रबार

पञ्चेवाजा राग_संरक्षण