कला

कलामा बेलायतको प्राकृतिक दृश्य

काठमाडौं – हरियाली पहाडको मध्य भागमा गाईहरू चरिरहेका छन्। पडाहको अर्को भागमा सुन्दर बस्तीको दृश्यका कल्पना गर्दै तयार गरिएको चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।

गत माघ २८ देखि राजधानीको अरुपण आर्ट ग्यालरीमा चित्रकार रुरु लम्साल खनालको एकल चित्रकला प्रदर्शनी आयोजना भइरहेको छ।

विगत १५ वर्षदेखि बेलायत बस्दै आएकी उनले देखेका सुन्दर दृश्यलाई क्यानभासमा उतारेकी थिइन्। ‘प्राकृतिक दृश्यहरूले आनन्द प्रदान गर्दछन्। विगत १५ वर्षदेखि बेलायतका विभिन्न स्थान भ्रमण गर्दा देखेका दृश्यलाई क्यानभासमा उतारेर प्रदर्शनीमा राखेकी छु,’ उनले भनिन्।

प्रदर्शनीमा राखिएका अधिकांश चित्रकलाले प्रकृतिको सुन्दर दृश्यलाई बयान गरेको छ। समुन्द्र छटाको रोचक दृश्यदेखि किसानको जीवनशैली झल्काउने विभिन्न २६ वटा चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्।

नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपाली ग्रामीण भागको स्मरण गराउने दाबी उनले गरेकी छन्। बेलायतको समुन्द्रदेखि जंगल, डुंगा र वातावरणको चित्रण गर्ने प्रकृतिको सुन्दर चित्रकला प्रदर्शनीमा हेर्न सकिन्छ।

मौसम परिवर्तनसँग प्रकृतिमा देखिने फरकलाई उनले क्यानभासमा समावेश गरेकी छन्। उनले बेलायतको प्रकृतिलाई नेपालमा प्रदर्शन गर्ने इच्छुक भएकाले प्रदर्शनीको आयोजना गरेको बताइन्। ‘बेलायतमा समुन्द्रको छेउमा बस्ने गरेको हुँदा यसको रोचक दृश्यहरू क्यानभासमा उतार्न लागिपरेको हुँ। १५ वर्षको मेहिनेतमा तयार गरिएका चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन्,’ उनले भनिन्, ‘नेपालको प्राकृतिक दृश्यलाई क्यानभासमा उतार्न लागिपरेको छु।’ यो उनको तेस्रो एकल चित्रकला प्रदर्शनी हो।

प्रदर्शनीको अवलोकन गरेका नेपाल ललित कला प्रज्ञा– प्रतिष्ठानका कुलपति केके कर्मचार्यले बेलायतको प्रकृतिको झल्को दिएका चित्रकलाले त्यहाँ पृष्ठभूमि स्मरण गर्न सहयोग भएको बताए। ‘नेपाल र बेलायतको प्राकृतिक सुन्दरता हेर्दा उस्तै देखिन्छन्। बेलायतका प्रकृतिको दृश्यले नेपालको ग्रामीण भेगको झल्को दिएको महसुस गरेको छु। प्रकृतिप्रेमीहरूलाई प्रदर्शनीमा राखिएका चित्रकलाले आकर्षित गर्नेछ,’ उनले भने।

प्रदर्शनीमा चित्रकला अवलोकन गरिरहेका चित्रकार एनबी गुरुङका अनुसार प्राकृतिक परिवर्तनको छोटो अवधिमा तयार गरिएका चित्रकलाले त्यसको रोचक पक्षलाई समेटेको छ।

मौसम परिवर्तनसँग प्रकृतिमा देखिने फरकपन चित्रकला समावेश गरिएका छन्। मौसम परिवर्तनको रोचक शैलीबारे बुझ्न चित्रकलाले सहयोग गरेको छ,’ उनले भने, ‘कलाकारले चुनौती लिएर चित्रकलाहरू तयार गर्नुभएको देखिन्छ। प्रदर्शनीमा राखिएका चित्रकलाले आनन्दको अनुभूति दिएको छ।’

अरुपण आर्ट ग्यालरीका सञ्चालक तथा प्राज्ञ रमेश खनालले बेलायतको प्राकृतिक चित्रकलाहरूले नेपाली ग्रामीण भेगको स्मरण गराएको बताए। ‘कलाकारिताको यात्रा अनन्त हुन्छ।

चित्रकार रुरु लम्साल खनालको चित्रहरूले मलाई समेत प्रभाव पारेको महसुस गरेको छु,’ उनले भने। प्रदर्शनी आगामी फागुन ८ सम्म चल्नेछ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:१३ सोमबार

कला प्राकृतिक_दृश्य बेलायत