कला

बौद्ध कला र संस्कृति समुदायसँग जोड्न आग्रह

बुटवल – समुदायमा बौद्ध शिक्षाको पालना हुनसके मात्रै यसको सार्थकता हुने बौद्ध विद्वानहरुको निष्कर्ष रहेको छ। बौद्ध शिक्षा विज्ञहरूले बौद्ध कला र संस्कृतिलाई समुदायसँग जोडेर लैजान सके मात्र समुदायमा यसको पालना हुनेसमेत औंल्याएका छन्।

प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्य र लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा जारी बौद्ध कला, संस्कृति तथा साहित्य महोत्सवको आज तेस्रो दिनको विचार गोष्ठीमा बौद्ध विज्ञहरूले बुद्धजन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम क्षेत्रमा बौद्ध शिक्षाको प्रयोगात्मक अभ्यास आवश्यक रहेको बताए। उनीहरूले त्यसका लागि विद्यालय तहकै शिक्षाबाट बुद्ध शिक्षा लागू गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बौद्ध संस्कृति, दर्शन र नागरिक समुदाय प्यानल छलफलमा बोल्दै वक्ताहरुले बौद्ध दर्शनको मसिनो अध्ययन आम नेपाली समुदायबाटै आवश्यक रहेको बताए। बौद्ध संस्कृति, दर्शन र नागरिक समाजको विषयमा पूर्वसभामुख दमननाथ ढुंगानाले बौद्ध शिक्षालाई समुदायमा प्रयोगात्मकरूपमा कार्यान्वयन गर्नुपर्ने बताए। ‘बुद्धका सन्देशले विश्वव्यापी शान्तिको सन्देश प्रवाह गरेको भन्दै त्यसलाई अझै गहिरो तरिकाले कार्यान्वयन गरिनुपर्छ,’ उनले भने।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माले बौद्ध संस्कृति र दर्शनलाई स्थानीय नागरिक समुदायसँग जोड्न आवश्यक रहेको बताए। मुलुकमा यसका कतिपय अभ्यास भइरहेकाले यसलाई व्यापक बनाउन जरुरी रहेको उनको भनाइ थियो।

त्यस्तै प्रेम कसजुले बौद्ध संस्कृतिको विकासक्रमले मुलुकलाई बलियो बनाएको बताए। ‘बौद्ध अध्ययन विषयको प्यानल छलफलमा बौद्ध कलाको विश्वव्यापी क्षेत्रका विषयमा आदर्श भट्टराईले कलाले नै एकअर्का क्षेत्रलाई नजिक बनाउन सक्ने भन्दै बौद्ध संस्कृतिमा कला महत्वपूर्ण रहेको छ,’ उनले भने।

बौद्ध कला, संस्कृतिको प्रदर्शन र मोन्लाम पूजा महोत्सवका आकर्षण रहेका थिए। दुई दिनसम्म चलेको विचार गोष्ठीमा विभिन्न १६ विज्ञले विविध विषयमा छलफल गरेका थिए। विश्वविद्यालयले कला महोत्सव तिलौराकोट, रामग्राम र देवदहमा गर्ने योजना बनाएको छ। चारै पवित्र धाममा बौद्ध संस्कृतिको गतिविधि बढाउन महोत्सव गर्ने योजना बनाइएको हो।रासस

प्रकाशित: २७ माघ २०७६ ०२:१२ सोमबार

बौद्ध_कला संस्कृति