कला

साकिरा र जेनिफरकाे दमदार प्रस्तुति

फ्लोरिडा (एजेन्सी) – गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका छन्। फ्लोरिडामा आयोजित सुपर बाउल हाफटाइम सोमा गायिका साकिरा र जेनिफर लोपेजले दमदार प्रस्तुति दिएका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सुपर बाउलमा साकिरा र जेनिफर लोपेजले एकसाथ अविष्मरणीय प्रस्तुति दिएका हुन्। सन् २०१७ को सुपर बाउलमा गायिका गागाको भन्दा विशेष प्रस्तुति दिएको दाबी अमेरिकी सञ्चारमाध्यमले गरेका थिए।

दुई ल्याटिन कलाकारहरूले सुपर बाउलमा इतिहास रच्दै एक साथ स्टेजमा देखिएका थिए। उनीहरूलाई महिला उर्जाको प्रतीक मानिएको थियो। गायिका लोपेजले आफ्नी ११ वर्षीया छोरी एम्मेसहित अन्य बालिकाहरूसँग सांगीतिक प्रस्तुति दिएकी थिइन्। आफ्नो ४३ औं जन्मदिन मनाउँदै गरेकी गायिका साकिराले सदावहार प्रस्तुतिले दर्शकको मन जित्न सफल भइन्। सामाजिक सञ्जालमा ‘सुपर बाउल’ र ‘साकिरा’ जस्ता ह्यासट्यास टेन्डिङमा परेका थिए।

यसअघि दुवै गायिकाले एकसाथ सांगीतिक प्रस्तुति दिने जानकारी आ–आफ्नो सामाजिक सञ्जालमार्फत गराएका थिए। सोको एनएफएल, पेप्सी र रक नेसन्सले संयुक्त रुपमा आयोजना गरेका थिए। दुवै गायिकाहरूले सन् १९९० को दशकदेखि स्पेनिस र अंग्रेजी भाषामा गीत गाउँदै आएका छन्। दुवैका गीतहरू ल्याटिनको सांगीतिक चार्टमा हिट भएको थियो।

‘यी दुई लोकप्रिय गायिकाहरू एकसाथ देखिनु नै रोचक छ। कारण, दुवै गायिकाले नयाँ उदाहरण स्थापित गरेका छन्। उनीहरूले युगको अविश्वसनीय प्रदर्शन दिएका छन्,’ पेप्सीका मार्केटिङका उपाध्यक्ष टोड कप्लानले भने।

प्रकाशित: २३ माघ २०७६ ०३:२७ बिहीबार

साकिरा जेनिफर_लोपेज प्रस्तुति