कला

‘नेपाली संगीतले देश चिनाउँछ’

काठमाडौं – काठमाडौं महानगरा मेयर विद्यासुन्दर शाक्यले सर्वसाधारणलाई नेपाली संगीत सिकाउने वातावरण सिर्जना गर्न स्थानीय तह तत्पर रहेको बताएका छन्। बुधबार नेपाल म्युजिक सेन्टरको १४ औं वार्षिक उत्सवमा बोल्दै उनले नेपाली संगीतको संरक्षण गर्नुपर्ने बताए।

‘औपचारिक संगीतसम्बन्धी शिक्षाको लागि स्थानीय सरकारले सहयोग गर्न तत्पर रहेको छ। यससम्बन्धी पाठ्यक्रम विकास गरेर सर्वसाधारणलाई संगीत सिकाउने वातावरण सिर्जना गर्न हामी तयार छौं,’ उनले भने।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संगीतले देशको प्रतिनिधित्व गर्ने बताए। ‘संगीतमा रुचि राख्नेलाई यससम्बन्धी ज्ञान दिनुपर्छ। संगीतको माध्यमबाट विदेशमा रहेका विभिन्न संस्थामा नेपाली विद्यार्थीहरूलाई स्पेस दिनु आवश्यक रहेको छ,’ उनले भने।

सो सेन्टरमा औपचारिक संगीतसम्बन्धी ज्ञान लिन आउने विद्यार्थीको सहभागिता घट्दै गएको जानकारी प्रिन्सिपल इमनविक्रम शाहले बताए। ‘संगीतप्रति रुचि राख्ने धेरै भएपनि यसलाई निरन्तरता दिने कम हुँदै गएका छन्। त्यसैले संगीतसम्बन्धी औपचारिक ज्ञान लिने विद्यार्थीको संख्या कम हुँदै गएको छ,’ उनले भने। संगीतलाई सर्वसाधारणले पेशाको रूपमा अहिलेसम्म लिन नसकेको उनले बताए। उनका अनुसार सरकारले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीहरूलाई रोजगारीमूलक सीप प्रदान गर्ने शिक्षा नीतिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स र प्लान्ट इन्जिनियरिङलगायतसँगै हाल संगीत शिक्षा समेत दिइन्छ।

सार्वजनिक शैक्षिक गुठी नेपाल म्युजिक सेन्टरलाई हाल संस्कृतिविद् सत्यमोहन जोशी र म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेतृत्व गरिरहेका छन्। सरकारले ६ वर्षअघि ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रममा कक्षा नौबाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गतका विभिन्न विषयमा पढाउने नीति लिइएको थियो। तर यस धारमा सामुदायिक विद्यालयमा कक्षा सञ्चालन भएमा निःशुल्क पढाउन र शिक्षक दरबन्दी दिन सरकारलाई कठिनाइ भएको सेन्टरले बताएको छ।

प्रकाशित: १६ माघ २०७६ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App