काठमाडौं - रेटिङ: ३.५
कलाकार: कंगना रनावत, जस्सी गिल, ऋचा चड्डा, नीना गुप्ता, यज्ञ भसिन
निर्देशक: अश्विनी अय्यर तिवारी
पछिल्लो समय बलिउडमा गेम जेन्रका फिल्महरूले राम्रो बजार लिइरहेको देखिन्छ। ‘भाग मिल्खा भाग’ देखि ‘मेरी कोम’, ‘गोल्ड’ देखि ‘चक् दे इन्डिया’ ले विभिन्न किसिमका खेलकुदमा सफलता हासिल गर्न गरिएका प्रयासलाई मोहक ढंगले प्रस्तुत गरिएका छन्।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पंगा’ को कथाले भने नेपालकी चर्चित खेलाडी आयषा शाक्यको खेलकुदमा पुनरागमनको झल्को दिएको छ। हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को ‘पावर गेम’ मानिने तेक्वान्दो खेलमा आयषा शाक्यले लामो समयपछि दुई स्वर्ण जितेर चर्चा बटुलिन्। उनको सो खुसीको क्षणमा दुई सन्तानसमेत सहभागी थिए।
ठीक यस्तै दृश्य गत शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको भारतीय फिल्म ‘पंगा’ ले देखाएको छ। फिल्मले महिला सशक्तीकरणलाई कसरी घरबाटै जोड दिन सकिन्छ भनेर देखाएको छ।
फिल्मको कथाअनुसार, भारतीय राष्ट्रिय कबड्डी टोलीकी पूर्व कप्तान जया निगम (कंगना रनावत) भोपालको रेलवे स्टेसनमा टिकट काम गर्छिन्। उनको जीवन पति प्रशान्त (जस्सी गिल) र छोरा आदित्य (यज्ञ भसिन) को वरपर मात्र घुमिरहेको छ।
एक दिन छोरा आदित्यले कुनै समय आफ्नी आमा कबड्डी च्याम्पियन थिइन् भन्ने थाहा पाएपछि फिल्मको ट्र्याक फेरिन्छ। आफ्नो समय बितिसकेको भन्दै नीच मारेर बसेकी आमालाई लक्षित गरेर छोराले बुबालाई भन्छ, ‘उसो भए ३२ वर्षमा पनि मान्छेले फेरि खेल मैदानमा फर्कन मिल्दैन ?’
छोरोको यही प्रश्नले जयाका सारा सोच परिवर्तन गरिदिन्छ। ऊ पुनः कबड्डीको प्रशिक्षणमा छोरालाई खुसी पार्न सहभागी हुन्छिन्। छोरा आदित्यको जन्मपछि कबड्डी करिअरलाई पूर्णविराम लगाएकी जया आफ्नो सपना पूरा गर्न कम्मर कसेर लागिपर्छिन्।
एक दृश्यमा जयाको संवाद, ‘महिला सशक्तीकरणका ठूलाठूला कुराहरु हुन्छन्। तर मानौं आमाका सपना चाहिँ हुँदैनन् जस्तो गर्छन् मानिसहरु’ दर्शकलाई घोत्लिन बाध्य पार्छ। आदित्य (जयाका छोरा)ले बुबालाई आफ्नी आमालाई कबड्डी खेलाडीको करिअर नछाड्न किन प्रोत्साहिन नगरेको भन्ने प्रश्नले सोच्न बाध्य बनाउँछ।
‘नील बट्टे सन्नाटा’ र बरेली की बर्फी’ फिल्मपछि निर्देशक अश्विनी अय्यर तिवारीले एउटा हृदयस्पर्शी कहानी पस्किएकी छन्। हास्यको पुट दिँदै समाजको चरित्रमाथि व्यंग्य गर्ने फिल्म पस्किन माहिर छिन् उनी। यस फिल्ममा पनि उनले आफ्नो सोही कौशल प्रदर्शन गरेकी छन्।
फिल्मका पात्रहरू र संवाद बुलन्द छन्। निर्देशकले सुन्दर ढंगले करिअरमा कमब्याक गरिरहेकी आमालाई फिल्ममा प्रस्तुत गरेकी छन्। फिल्मको हाफटाइम अलि सुस्त महसुस हुन्छ। दैनिक जीवनको पट्यारलाग्दो अवस्थालाई निर्देशकले पस्कदा दर्शकलाई पनि उत्तिकै दिक्कलाग्दो बन्न पुगेको छ। तर जब हाफटाइमपछि फिल्म विषयवस्तुमा प्रवेश गर्छ। त्यसपछि दर्शक मन्त्रमुग्ध हुन्छन् र कुनबेला फिल्म सकियो भन्ने पत्तो पाउँदैनन्।
अभिनेत्री कंगना रनावतले जयाको भूमिकालाई दमदार रुपमा प्रस्तुत गरेकी छन्। उनले दर्शकलाई आफूसँगै हँसाउँछिन्, रुवाउँछिन् र सबैभन्दा महŒवपूर्ण आमाको कोमल भाव र तिनको सपना सम्झन बाध्य पार्छिन्। जयाको पति बनेका प्रशान्त मात्र होइन, अभिनेत्री ऋचा चड्डाको अभिनयले पनि दर्शकलाई मज्जैले आनन्द दिन्छ।
ऋचा र कंगनाको सहकार्य फिल्मको मुख्य आकर्षण पनि हो। यस फिल्ममार्फत बलिउडमा डेब्यु गरेका बालकलाकार यज्ञको अभिनय तारिफयोग्य छ। कलाकार नीना गुप्ता आफ्नो भूमिकामा जमेकी छन्।
फिल्मको शीर्ष गीत ‘दिल ने कहा’ ले श्रोतालाई आनन्द दिन्छ। फिल्म हेरिसकेपछि दर्शक जब हलबाट निस्कन्छन्, प्रशान्तले जयलाई भनेको कुरा सम्झन बाध्य हुन्छन्। ‘जीवनमा धेरै समस्याहरू एक वर्षपछि न तिमीलाई याद हुन्छ न मलाई, सम्झना रहन्छ त केवल गुमाइएको त्यो मौका मात्र। त्यसलाई किन उम्कन दिइयो होला भनेर हामी जीवनभर थकथकी मानिरहन्छौं।’ ‘पंगा’ले आफ्ना सपना पूरा गर्न उमेरको हदले छैक्दैन भन्ने भाव मज्जैले दिएको छ।
प्रकाशित: १३ माघ २०७६ ०२:४० सोमबार