कला

रञ्जना लिपि सिक्दै सर्वसाधारण

ललितपुर - मंगलबजारका ६२ वर्षीय रुपेश नरसिंह श्रेष्ठ कागजमा रातो मसीबाट रञ्जना लिपिमा केही लेख्ने प्रयास गर्दैछन्। पहिलो पटक रञ्जना लिपि सिक्न लागिपरेका उनी आत्तिएझैं असिनपसिन देखिन्छन्। ‘रञ्जना लिपि सिक्ने रहर बल्ल पूरा हुँदैछ,’ उनी भन्दै थिए।

ललितपुरस्थित पाटनढोकामा शनिबार आयोजित एकदिने रञ्जना लिपि कार्यशालामा सहभागी उनका अनुसार सिक्ने र नयाँ कुरा जान्न उमेरले फरक पार्दैन्। रञ्जना लिपि नेवारी समुदायमा प्रचलितमात्र नभएर यो आफैंमा कला भएकाले उनीजस्तै करिब ६० हाराहारीका सहभागीहरू कार्यशालामा उपस्थित भएका थिए। स्कुले विद्यार्थीदेखि विभिन्न उमेर समूहका सर्वसाधारणहरू रञ्जना लिपि सिक्न तत्पर देखिन्थे।

नेपाल लिपि गुथि, शान्ति युवा क्लब, मछिन्द्र क्लब र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको कार्यशालामा कोही क,ख र गलाई रञ्जना लिपिमार्फत लेख्न व्यस्त थिए भने कोही आफ्नो नाम लेख्न तलिन थिए। कक्षा पाँचमा अध्ययरत ११ वर्षीया सेरिका शाक्यलाई नेपाली वर्णमालाको क र ख रञ्जना लिपिमा लेख्न लागिपरेकी थिइन्। ‘स्कुलमा नियमित नेपाली विषय पढेको हुँदा रञ्जना लिपि लेख्न अफ्ठ्यारो भएझैं महसुस गरें,’ उनले भनिन्, ‘प्रारम्भिक चरणको रञ्जना लिपि सिक्ने मौका मिल्यो। यसलाई नियमित अभ्यास गर्ने योजना बनाएको छु।’

अर्की सहभागी किर्तिपुरकी १६ वर्षीय निर्जला महर्जनले रञ्जना लिपि सिक्न इच्छुक भएर कार्यशालामा सहभागी भएको जानकारी गराइन्। दुई वर्षअघि रञ्जना लिपि सिकेका आनन्दकुमार महर्जन कार्यशालामा सहभागीहरूलाई यससम्बन्धी जानकारी दिइरहेका थिए। रञ्जना लिपि नेवारी समुदायको मात्र नभएर नेपालको लिपि ठान्ने उनी सो लिपि संरक्षण सामूहिक रुपमा हुनुपर्ने बताउँछन्।

नेपाल लिपि गुथिका सचिव पवित्र कसाःका अनुसार गत वर्षबाट सुरु गरिएको रञ्जला लिपिसम्बन्धी कार्यशालाको यो ३८ औं शृंखला हो। रञ्जना लिपि सिक्न इच्छुकलाई केन्द्रित गरेर कार्यशालाको आयोजना गरिएको उनले बताए। ‘रञ्जना लिपि संसारको उत्कृष्ट लेखन शैलीमा पर्ने हुँदा नेपालको मौलिक लिपिका रुपमा प्रचलित छ,’ उनले भने, ‘मौलिक लिपिबारे सर्वसाधारणलाई जानकारी गराउन कार्यशालाको आयोजना गरिरहेका छौं।’

छैटौं शताब्दीतिर नेपालमा प्रयोग भएको रञ्जना लिपि बुद्ध धर्मको प्रसारसँगै संसारका विभिन्न देशमा पुगेको दाबी उनले गरे। पुराना हस्त लिखित ग्रन्थ, शिलापत्र र मन्त्रलगायतमा रञ्जना लिपिको प्रयोग व्यापक रुपमा भएको देखिन्छ।

प्रकाशित: १२ माघ २०७६ ०२:२८ आइतबार

रञ्जना_लिपि