कला

जापानमा आठ बाल चित्रकलाले प्रतिस्पर्धा गर्दै

काठमाडौं – जापानमा आयोजना हुने मित्सुबिसी एसियाली बालचित्र महोत्सवमा नेपालका आठ बालकलाकारको कलाहरू छनोट भएका छन्। सोमबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बालबालिकाले बनाएका चित्रकलाहरूले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाएको जानकारी गराएका थिए।

महोत्सवअन्तर्गत नेपालका सातै प्रदेशका विभिन्न जिल्लाहरूमा आयोजित ‘यही हो मेरो जीवन’ शीर्षकमा बालबालिकाहरूले बनाएका चित्रकलामध्ये उत्कृष्ट आठ कला छानिएका थिए। ‘यही हो मेरो जीवन’ शीर्षकमा बालबालिकाहरूले बनाएका चित्रकला प्रदर्शनीमा राखिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालयका कक्षा ६ का ब्रिसिका तामाङ, पर्साको सिद्धार्थ माविका कक्षा ६ का प्रेममाला यादव, धादिङको गुडस्टार्ट बोर्डिङ स्कुलका कक्षा ४ का अविनाश रेग्मी, काठमाडौंको तरुण माविका कक्षा ४ का भावना भुजेल, नीलबाराही माविका कक्षा ४ का अनुष्का कुमारी, बाँकेको जयबागेश्वरी माविका कक्षा ७ का पूर्णिमा बुढाथोकी, सुर्खेतको जनसेवा माविका सन्ध्या शाही, कञ्चनपुरको बैजनाथ माविका कक्षा ७ का मनिषा गुरुधामीका कलाहरू छनोट भएका थिए। छनोट भएका आठ बालबालिकाको बालचित्र डायरी माघ १७ सम्म जापान पठाइसक्नुपर्नेछ। आगामी मे महिनाको अन्तिममा विजयी घोषणा हुनेछ।

प्रकाशित: ७ माघ २०७६ ०२:१९ मंगलबार

बाल_चित्रकला जापान