कला

१३ कलाकारको कला ‘क्यान्भास एट थिएटर’ मा

काठमाडौं – कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ नामक सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ। राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा १३ जना कलाकारहरुको कला प्रदर्शनीमा राखिएका छन्।

नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र चित्रकला विधाका ३० कलाहरूको प्रदर्शनी सुरु भएको हो।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रदर्शनीको उद्घाटन गर्दै यस क्षेत्रलाई कलानगरीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे। प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुले शक्ति पाख्रिनको निर्देशनमा ‘हामी बोल्छौं’ शीर्षकको विम्वात्मक प्रस्तुति दिएका थिए। कलाकार मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई र शंकर भण्डारी लगायतले अभिनय गरेका थिए।

रंगमञ्च कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे। प्रदर्शनीमा रहेका चित्रहरुले नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन्।

कलाकारहरुले मानव सभ्यताका विकृति र उत्पीडनलाई प्रतिरुप, मानवीयता, लैंगिकता र आशा र संघर्षहरू क्यानभासमा उतारेका छन्। चित्रकार उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भीषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ र सोनी राईको कला प्रदर्शनीमा राखिएका छन्। कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी छन्। प्रदर्शनी आगामी माघ ४ सम्म चल्नेछ।

प्रकाशित: २८ पुस २०७६ ०३:०४ सोमबार

कलाकार