कला

पेलाको निर्जन किनार आँशु – ३ गीति एल्बम बिमोचन

काठमाडौं - गायक तथा संगीतकार तिलकसिंह पेलाको नयाँ गीति एल्बम निर्जन किनार आँशु–३ को विमोचन गरिएको छ।   शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उक्त एल्बमको बिमोचन गरेका हुन्।

लामो समयदेखि शास्त्रिय संगीतमा साधनारत गायक तथा संगीतकार पेलाले २३ वर्षपहिले आँशु एल्बम ल्याएका थिए। २३ वर्षको अथक साधनापछि पेलाले ‘ निर्जन किनार’ आशु भाग ३ ल्याएका हुन्। आँशु –३ मा २ वटा नेपाली गजल, ४ वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी जम्मा ८ वटा सांगितिक रचनाहरु समावेश गरिएका छन्।  ती मध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गितहरुको भिडियो बिमोचन कार्यक्रममा प्रदर्शन गरिएको थियो।

विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्दले संगीतमा २३ वर्षपहिले पेलाको आशु एल्बम जसरी लोकप्रियताको शिखरमा पुगेको थियो अहिले विमोचन गरिएको निर्जन किनारले पनि श्रोतको मन जित्नेमा आफू विश्वस्त रहेको बताए।  साधना विनाको गीतसंगित पूर्ण नहुने बताउदै पेलाको गीति एल्बमले नेपाली सांगितिक क्षेत्रमा नयाँ अध्याय थप्ने बताए। वरिष्ठ संगितकार राजु सिंहले पेला गायनमा मात्र नभएर संगीतमा पनि उत्तिकै दखल राख्ने गायक भएको बताए।

गितकार कृष्णसिंह पेलाले साधना बिनाको संगीत अपुरो र अधुरो हुने दावी गर्दै तिलकले यसमा कुनै कसर बाकी नराखेको बताए। पूर्व सभाषद् कमल क्षेत्रीले रातारात गाएर हिट हुने प्रचलनभन्दा पेलाको गायन फरक रहेको बताउँदै माझिएर आएको गीतसंगितले सबैलाई आनन्द दिने बताए।

बैतडी जन्मथलो भएका गायक पेलाले २३ वर्ष पहिले आफूले गाएको आशु एल्बम सबैले मन पराइदिएर पनि गीतसंगीतको पूर्ण ज्ञान बिना वाहवाही दीर्घकालिन नहुने भन्ने ठानेर आफुले २३ वर्षको साधनापछि अर्को एल्बम जन्माएको बताए। कार्यक्रममा पेलाका गुरु एपं वरिष्ठ संगीतकार धनबहादुर गोपालीले तिलकजस्तो मेहनती, इमान्दार संगीत साधन चेला पाएकोमा हर्ष लागेको बताए।

प्रकाशित: २७ पुस २०७६ ०५:१३ आइतबार

आँशु_–_३ गीति_एल्बम बिमोचन