कला

आदिकविको सय फिटको सालिक निर्माण हुने

तनहुँ – भानु नगरपालिका–४ शिखरकटेरीमा करीब तीन करोड रुपैयाँको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ। पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रूपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए। करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए।

उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रुपैयाँ रहेको छ। पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ।

चुँदी रम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटरबाटो भएका कारण मानिसलाई आवातजावत गर्न समस्या भएकाले उक्त बाटो स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाटले जानकारी दिए।

प्रकाशित: २४ पुस २०७६ ०१:४८ बिहीबार

आदिकवि भानुभक्त_आचार्य