कला

‘पारिश्रमिक विभेद घट्दै छ’

मुम्बई – बलिउड अभिनेत्री काजोलले समान पारिश्रमिकबारे आफ्नो धारणा व्यक्त गरेकी छन्। उनले यस विषयमा आफूलाई रुचि नभएपनि समानताबारे फिल्म हेर्ने दर्शकले मुख्य भूमिका निर्वाह गर्ने तर्क राखेकी छन्। हाल निर्माण भइरहेका फिल्मका प्रकार र दर्शकहरूको रुचिअनुसार बलिउडमा महिला र पुरुष कलाकारले पाउने पारिश्रमिकमाथिको विभेद घट्दै गएको बताइन्।

भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनिन्, ‘म समानतातिर खासै ध्यान दिन्न्। यो बलिउडको अर्थतन्त्रसँग सम्बन्धित रहेको विश्वास गर्दछु। पछिल्ला वर्षहरूमा दर्शकको सोचाईमा परिवर्तन भइरहेको छ। बिस्तारै सबै कुराहरू सुध्रिएका छन्। फिल्ममेकरहरू सबै खालका विषयमा फिल्महरू बनाइरहेका छन्। दर्शकहरूले महिला केन्द्रित फिल्मलाई २ देखि तीन करोड रूपैयाँ कमाउन दिनुपर्छ।’

अजय देवगनद्वारा निर्माण गरेको फिल्म ‘तानाजी’ मा उनी र सैफअली खान मुख्य भूमिका देखिँदैछन्। १७ औं शताब्दीका मराठा योद्धा तानाजीको कथामा बनेको यो फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन्। यसबाहेक उनी नेटफ्क्सिको फिल्ममा देखिने छिन्।

यसअघि अर्की अभिनेत्री तप्सी पन्नुले पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुनेमा पक्षमा आफू रहेको बताएकी थिइन्। ‘समान पारिश्रमिक अत्यन्त महत्वपूर्ण छ। म यसलाई समर्थन गर्छु। तर अहिले म जहाँ उभिएको छु। त्यहाँ बसेर मैले मेरो यो फिल्ममा रहेका पुरूष सहकर्मीजत्तिकै पारिश्रमिक देऊ भन्न सक्दिन,’ उनले भनेकी थिइन्। फिल्मको बजारले कलाकारको पारिश्रमिक निर्धारण हुने उनको भनाइ थियो।

प्रकाशित: २१ पुस २०७६ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App