कला

पूर्वप्रधानन्यायाधीशको ‘कारा’ माथि अन्तरसंवाद

काठमाडौं - पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले लेखेको उपन्यास ‘कारा’ माथि शनिबार अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले उपन्यासमाथि टिप्पणी गरेका थिए।

‘यस पुस्तकमा महिलाका विषयदेखि सामाजिक र राजनितिक अवस्थालाई यथार्थवाद र सत्यताका आधार चित्रण गरिएको छ। त्यसैले यो एउटा उपन्यासमात्र होइन, यो सुशीलले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो,’ कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले भनिन्, ‘उहाँले आफूले देखे–भोगेका घट्नाहरुलाई जसरी लेखनमा उतार्न सक्नु भएको छ। त्यसले यो उपन्यासलाई निकै सजीव र रोचक बनाएको छ।’ पूर्वप्रधानन्यायाधीश कार्कीले प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लेखेको ‘कारा’ मार्फत नेपाली कारागारभित्र देखिने फरक जीवनकथाहरुलाई औपन्यासिक लयमा समेटेकी छन्।

कार्यक्रममा बोल्दै पूर्वडिआईजी खरेलले प्रहरी सेवामा छँदा अनुभव गरेका कतिपय घट्नाको झल्को आफूले कारामा पाएको उल्लेख गरे। ‘एउटा छुट्टै नेपाल बुझ्ने भए एकपटक कारा उपन्यास पढ्नुपर्ने हुन्छ,’ उनले पुस्तकको कथावस्तुमाथि प्रकाश पार्दै टिप्पणी गरे, ‘अहिले तीन सयभन्दा बढी मानसिक रोगी नख्खुको जेलमा जीवन बिताउन बाध्य छन्।’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विसं. २०४६ सालको जनआन्दोलनमा पक्राउ परेर जेल बस्दा आफूले भोगेका र देखेका अनुभवलाई उपन्यासमा समेटेको बताइन्। ‘मैले जेलभित्र बिताउँदा क्षण यस उपन्यासमा समेटेकी छु। जेलमा पर्नु भनेको मर्न गएझैं हुने रहेछ,’ उनले भनिन्। ‘कारा’ लाई किताब पब्लिशर्सले प्रकाशन गरेको हो।

प्रकाशित: २० पुस २०७६ ०३:४९ आइतबार

पूर्वप्रधानन्यायाधीश कारा शुशिला_कार्की