कला

त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती

काठमाडौं – कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ। सो अवसरमा मंगलबार नाटयसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो।

त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि हुने बताएका थिए।

कार्यक्रममा कवि सीता भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गरेका थिए। कवि शिरोमणि, नाट्यसम्राट र महाकविको सम्मानार्थ नई प्रकाशनको संयोजनमा विसं.२०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको थियो। पौड्यालको जन्म १९४१ पुस १५ मा कास्कीको अर्घौंअर्चलेमा भएको थियो। विसं २००८ असार २९ मा उनलाई राजा त्रिभुवनद्वारा कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भत्ता प्रदान गरिएको थियो।

कवि शिरोमणि, सम र देवकोटा विसं. २००९ सालमा दार्जिलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा उनीहरूलाई त्रिमूर्तिको पदवीले सम्मान गरिएको थियो। कवि शिरोमणि पौड्यालका डेढ दर्जन कृति प्रकाशन भइसकेका छन्।

प्रकाशित: १६ पुस २०७६ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App