कला

कलामा प्रकृति मोह

काठमाडौं – हरियाली वातावरण, ताल र वरपरको रमणीय दृश्यका कारण सुन्दर देखिन्छ पोखरा। स्वदेशी र विदेशी पर्यटकलाई मोहित गरेको पोखरा वरपरका हिमालले हेर्न सराङकोट पुग्नेहरूको घुइँचो हुने गरेको छ। सराङकोटबाट देखिने रमणीय दृश्य बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तामा झुन्डिएएका क्यानभासमा देख्न सकिन्छ।

चित्रकार नरबहादुर १६ औं एकल कला प्रदर्शनीमा नेपालका विभिन्न रमणीय दृश्यहरूलाई चित्रमा समेटेका छन्। कतै झुल्किदै गरेको सूर्य, कतै हिमाल त कतै तोरीबारीको चित्रकला।

गत पुस १३ देखि सुरू भएको चित्रकार बिकको ‘द युट्युब सिरिज’ को कला प्रदर्शनीमा प्रकृतिसँग सम्बन्धित एक सयभन्दा बढी कलाहरू प्रदर्शनमा राखिएका छन्।

उनले चित्र कोर्न इच्छुकलाई युट्युबमार्फत यससम्बन्धी जानकारी दिने भएका छन्। बुद्धको विभिन्न सिरिजमा काम गरिसकेका उनले चित्रकलामा रुचि राख्ने व्यक्तिलाई ग्यालरीसम्म आकर्षित गर्न लागिपरेका छन्। उनले तयार गरेका चित्रहरुमा मनाङ, मुस्ताङदेखि ग्रामीण बस्ती र फाँटका आकृतिलाई कलामार्फत प्रस्तुत गरिएको छन्। प्रकृति प्रेमलाई केन्द्रित गर्दै उनले बुद्धका विभिन्न आकृति कोरेको बताए।

हिमाल, पहाडका दृश्यलाई चित्रमा उतारेर स्वदेश देखि विदेशसम्म प्रदर्शनी गरेका उनले नेपाललाई बुझेर विदेशीहरू नेपाल घुम्न आएको दाबी गरे। ‘प्रकृतिसम्बन्धी चित्रहरु कोर्न र बुझ्न मलाई सजिलो लाग्छ,’ उनले भने,‘यस्ता चित्रकला बनाउनजस्तै बिक्री गर्न सजिलो हुन्छ। अन्य चित्रकलाको तुलनामा प्रकृति थिमका कलाहरू बढी बिक्री हुन्छन्।’

उनले हिमालदेखि मनाङ, घान्द्रुकका रमणीय दृश्य र गोरखाको परम्परागत घरलाई क्यानभासमा समेटेका छन्। त्यस्तै, आकाशमा देखिने तारा दर्शकको मागअनुसार तयार गरेको उनले बताए। घान्द्रुकको गाउँ र फुल्दै गरेको तोरीबारीलाई उनको कलामा समेटिएको छन्। हिमाल चढ्न जाँदा आफ्नो इच्छा पूरा गर्ने गुम्बा छिर्ने परम्परालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

आफ्नो जन्मस्थल र बुद्धको सम्झनामा कोरिएको दुई चित्रकलापनि उनले प्रदर्शनीमा समेटेका छन्। उनले अधिकांश कलाहरू अवलोकन गरिसकेपछि सोही स्थानहरूमा बसेर कोरेको बताए। आफूभित्र भएको प्राकृतिक प्रेम र मोहलाई उनले चित्रमार्फत प्रष्ट्याएका छन्। प्रदर्शनी आगामी पुस २० सम्म चल्नेछ।

प्रकाशित: १६ पुस २०७६ ०२:४६ बुधबार

कला