काठमाडौं – नेपालमा वर्षेनी सयभन्दा बढी फिल्म निर्माण हुने गरेका छन्। वर्षेनी बन्ने फिल्महरूले मौलिक स्वरूप निर्माण गर्न नसकेको गुनासो निर्देशक नवीन सुब्बाले गरेका छन्। करिब ती वर्षअघि पोखरामा सुटिङ भइरहेको ‘पुरानो डुंगा’ फिल्मको प्रसंग उनले सुनाए। ‘यो फिल्म युनिट कस्तो सेटिङ र खिचाइमा काम गर्दैछ ?’ भनेर उनले सोध्दा जवाफ पाए, ‘गहिरो नजानूस् दाइ, भात खानका लागि फिल्म बनाइरहेका छौं ।’
अलेजान्द्रो गोन्जालेज इनारितुद्वारा निर्देशित ‘बर्ड म्यान’ र वाङ कार–वाईद्वारा निर्देशित ‘ग्रान्ड मास्टर’ जस्ता फिल्महरूमा पात्र, भाषा, ध्वनि र क्यामेराको कथ्य संरचनामार्फत फिल्ममेकरले व्यावसायिकता खोज्नतिर लागेर मौलिकता छुटाएको उनी बताउँछन्। ‘फिल्ममा क्यामेराको भूमिका महŒवपूर्ण हुन्छ। पात्रको स्वभावअनुसार यसको प्रयोग गरिन्छ। नेपाली फिल्ममा यसको खासै प्रयोग हुनसकेको छैन्।’ उनका अनुसार नेपाली फिल्ममा दुई वटा अभिनयको स्कुलका पात्रहरूले काम गरिरहेको छन्। थिएटर कलाकार नेपाली फिल्म क्षेत्रमा सक्रिय छन्। ‘थिएटर र फिल्ममा गरिने अभिनय फरक हो। पात्र निर्माण गर्न जानेका थिएटरका कलाकारले फिल्ममा गरिने अभिनय फरक हुन्छ भन्ने कुरा सिक्न खोजेनन्। नेपाली फिल्ममा अभिनय पद्धतिको विकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
मौलिकता निर्माणका लागि कथ्य संरचना, अभिनय, दृश्यबन्ध र ध्वनि आवश्यक पर्छन्। ‘कथ्य संरचना, अभिनय, दृश्यबन्ध र ध्वनिमा हामीले मौलिकता खोजेनौं। हामीसँग आफ्नै कथा भन्ने संरचना र अभिनय पद्धति छैन्,’ उनले भने। ‘मौलिकताका लागि के गर्ने त ?,’ उनी भन्छन्, ‘फिल्ममा मौलिक सौन्दर्य झल्किने थांका र मिथिला आर्टबाट हो ।’
भूगोलले ध्वनिमा फरक पार्ने भएपनि नेपाली फिल्ममा यसलाई वेवास्ता गरिने उनी बताउँछन्। ‘फिल्मको कथाअनुसार ध्वनिको अर्थ हुन्छ। हामीले यसलाई वेवास्ता गरिरहेका छौं,’ उनले भने। नेपालमा बन्ने फिल्ममा आदिवासी पात्र खासै निर्माण हुन नसकेको दाबी उनले गरेका छन्। ‘आदिवासीको पहिचान र कथा झल्काउने भाषा र भेषभूषाले मात्र पुग्दैन्,’ उनले थपे।
प्रकाशित: १५ पुस २०७६ ०३:४५ मंगलबार