कला

चित्रमार्फत सिकाइ साटासाट

काठमाडौं - नेपाल, भारत र बंगलादेशका चित्रकारहरूले चित्रमार्फत संस्कृति साटासाट गरेका छन्। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनीहरूले चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन्। कार्यशालालगत्तै उनीहरूद्वारा तयार भएका कला प्रदर्शनीमा राखिएको थियो।

नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर कला तयार गरेका थिए। भारतका कलाकारले कल्पनामा आधारित ग्रामीण बस्ती र बंगलादेशका कलाकारले देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई कलामार्फत प्रस्तुत गरेका थिए। सामूहिक चित्रकला कार्यशाला र प्रदर्शनीमा नयाँ कलाकारलाई सिक्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिलेको कलाकारहरूले बताए।

चित्रकार दिपेन्द्र बनेपालीका अनुसार प्रदर्शनीले नेपाल, भारत र बंगलादेशको मैत्री सम्बन्धको झल्काउने कलाहरू प्रदर्शन गरिएका छन्। यसलगत्तै सो प्रदर्शनी कलकत्ता र ढाकामा समेत आयोजना हुनेछ। चित्रकार बनेपालीद्वारा कोरिएको दुई वटा चित्रहरू प्रदर्शनीमा राखिएका छन्। उनले भूकम्पपछि बनेका नेपालका धार्मिक सम्पदाको सौन्दर्यलाई कोरेका छन्।

अर्का चित्रकार डिबी राईले राजधानीका भित्री गल्लीहरूमा देखिने सुन्दर प्रकाशका विकरणका आकृतिलाई क्यानभासमा कोरेका छन्। राजधानीमा भएका गल्ली, मठमन्दिर, परम्परागत पोशाक लगायतलाई उनले कलामार्फत प्रस्तुत गरेका छन्। ‘विदेशमा जस्तो अग्ला भवनहरू नेपालमा छैनन्। नेपालमा भएका साघँुरा गल्ली, त्यही गल्लीमा भएका मठमन्दिर विदेशीलाई मनपर्छ। साँघुरा गल्लीभित्र लुकेको नेपालपन र सौन्दर्यलाई मैले क्यानभासमा समावेश गरेको छु,’ उनले भने।

चित्रकार विनोदकुमार गुप्ताका बौद्ध धर्मलाई झल्काउने दुई वटा चित्रहरू प्रदर्शनीमा राखिएको छन्। ‘तीन देशका कलाकारहरूले संयुक्त रूपमा कला प्रदर्शनी गरिरहेका छौं। यस्ता प्रदर्शनीले कलाकारहरूलाई कलामार्फत एक अर्काको विचार आदानप्रदान गर्न सहयोग गर्छ,’ उनले भने।

प्रकाशित: १४ पुस २०७६ ०५:१९ सोमबार

चित्र चित्रकार