कला

थारु संग्रहालय खुला गरिँदै

कञ्चनपुर – थारु समुदायको रहनसहन झल्काउने परम्परागत शैलीको संग्रहालय तयार भएको छ। थारु समुदायका संस्कृति, रहनसहन र जनजीविका झल्काउने संग्रहालय अवलोकन गर्न आउने पर्यटकका निम्ति चाँडै खुला गरिने भएको छ।

थारु समुदायले प्राचीनदेखि वर्तमानसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु राख्नका लागि १२ वटा थारु गाउँका स्थानीयहरुलाई जिम्मा दिइएको थारु संग्रहालय तदर्थ समितिका सचिव भागीराम चौधरीले बताए। ‘भ्रमण वर्षको संघारमा सबै सामग्रीको व्यवस्था गरी संग्रहालयमा राख्छौं। थारु समुदायको नयाँ वर्ष माघीदेखि संग्रहालय पर्यटकका लागि खुला गरिनेछ,’उनले भने।

उनीका अनुसार संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्रि, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा र डपलालगायतका सामान राखिने छन्। यसैगरी हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्की लगायतका सामानको जोहो गर्नका लागि थारु समुदायका अगुवालाई परिचालन गरिएको छ।

‘संग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी र बिच्छयालगायत राख्नका लागि थारु समुदायलाई दान गर्न भनेका छौं’ उनले भने, ‘दानमा आएका गहनासहित अपुग गहना वडा कार्यालयले खरिद गर्ने अश्वासन दिएको छ।’

थारु समुदायका महिलाले लगाउने लेहंगा, चोली र पुरुषले लगाउने धोती र कमिजसमेत संग्रहालयमा राख्नका लागि व्यवस्था गरिएको छ। ‘परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणका लागि सामग्री जुटाउन थालेका छौंं’, थारु संग्रहालय तदर्थ समितिका अध्यक्ष पल्टा चौधरी भने, ‘हराउँदै गएको थारु संस्कृति र सामग्री हेर्न नपाएकाका लागि संग्रहालयमा सामग्रीको जोहो गर्छांै।’भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ।

भल्कामा रहेको कुण्डमा पानीमाथि उफ्रने गर्दछ। कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गर्मी हुने गर्दछ। माघी संक्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ।

प्रकाशित: ४ पुस २०७६ ०२:१९ शुक्रबार

थारु_संग्रहालय संस्कृति