कला

सर्वनाम थिएटरमा गुन्जिए नवोदित र राईका कविता

काठमाडौं – प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं भन्ने उद्घोषका साथ नियमित साहित्यिक कार्यक्रम गर्दै आएको सर्वनाम थिएटर काठमाडौंले कवि मीनकुमार नवोदित र नु हाङ राईलाई प्रस्तुत ग-यो।

विराटनगर कर्मथलो बनाएर पत्रकारितामा समेत सक्रिय कवि नवोदितले जून र आमा, देशको नाममा, अर्गानिक अनुहार, रहर, तस्बिर र प्रेम, युगको अन्तिम रात, बा हुनुको अर्थलगायत एक दर्जन कविता सुनाएका थिए। त्यसैगरी, भारत दार्जिलिङ मिरिकका नेपालीभाषी कवि नु हाङ राईले रातो कविता, जुत्ता, सपनाको आगो र पुतला, बुधे, टाउकोबिनाको समय गरी आधा दर्जन कविता सुनाएका थिए।

कवि नवोदित र राईका कविता सुनेपछि चर्चित कवि तथा प्राज्ञ श्रवण मुकारुङले कुमारी बिम्वसहितका शक्तिशाली कविता सुन्न पाएर मन आनन्दित भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमको सुरुवातमा सर्वनामका निर्देशक अग्रज नाट्यकर्मी अशेष मल्लले कविहरूलाई सम्मान गरेका थिए। लुनकरणदास–गंगादेवी चौधरी साहित्य–कला मन्दिरको सहकार्यमा आयोजित सो कार्यक्रममा कविता सुनाउने कविहरूलाई चार÷चार हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइएको थियो।

प्रकाशित: ३ पुस २०७६ ०४:१३ बिहीबार

कविता वाचन