कला

यतीमा आकृति भर्न व्यस्त कलाकार

काठमाडौं – नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाली कलाकारहरु रहस्यमय हिममानव ‘यती’ को मूर्तिकला बनाउन व्यस्त छन्। पर्यटकीय क्षेत्र ठमेल वरपर देखिने यतीको मूर्तिकला तयार गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ। एमक्युब ग्यालरीका क्युरेटर तथा कलाकार मनीषलाल श्रेष्ठ र ठमेलस्थित दलाई ला आर्ट बुटिकको निर्देशक प्रेमप्रभात गुरुङको पहलमा एक सय ६ चित्रकारले यतीलाई विषय बनाएर काम गरिरहेका छन्।

चित्रकार आङछिरिङ शेर्पा, विधाता केसी, मुक्तिसिंह थापा, किरण मानन्धर, लोक चित्रकार, एससी सुमन र समुद्रमानसिंह श्रेष्ठ लगायतका कलाकार यतीलाई नयाँ स्वरुपमा प्रस्तुत गर्न जुटेका छन्। आङछिरिङ शेर्पाको डिजाइनमा तयार भएको डमीमा उनीहरु कलाकारिता गर्न सक्रिय छन्। हालसम्म २० वटा यतीको तयार भइसकेका छन्। त्यसबाहेक ४० वटा यतीको डमीमा कलाकारहरु चित्र कोर्न तलिन छन्।

चित्रकार आङछिरिङ शेर्पाका अनुसार उनले दुई वटा यतीको मूर्तिकलाको डिजाइन गरेका थिए। उनले बनाएको यतीको मूर्तिकला भृकुटीमण्डपस्थित राष्ट्रिय सभा हलमा राखिएको छ।

उनले यतीको मूर्तिकला हलुका बनाउन फाइबर ग्लास र ग्लास डष्टको समिश्रण गरेका थिए। ‘भ्रमण वर्ष–२०२० लाई आफ्नो कलाको माध्यमले सहाउन पाएको छु। नेपाल भ्रमणमा आउने पर्यटकले यसमार्फत् नेपालको मौलिक संस्कृति बुझ्न सक्नेछन्,’ उनले भने। १५ केजीसम्म तौल भएको एउटा यती बनाउनमात्र पाँच लाखसम्म खर्च लाग्ने जानकारी उनले गराएका थिए।

भ्रमण वर्ष–२०२० को निम्ति एक सय ८ वटा यती तयार हुनेछन्। तयार भइसकेका सात फिट उचाई र चौडा भएको यतीको मूर्तिकला हाल राष्ट्रिय सभा गृह, लबिम मल, ठमेल, सिभिल मल, केशर महल र एयरपोर्ट लगायत स्थलमा राखिएका छन्।

‘यती भन्नासाथ हिमाली क्षेत्रको जनावर सम्झछौं। नेपाल चिनाउने हाम्रा मौलिक सांस्कृतिकमाथि आधारित रहेर यतीको मूर्तिकलाहरु तयार भइरहेका छन्,’कलाकार मनीषलाल श्रेष्ठले भने,‘यतीको माध्यमले हामीले हिमाली बौद्ध धर्म र संस्कृतिसँग जोड्ने प्रयास गरेको छौं।’

प्रकाशित: १ पुस २०७६ ०४:४० मंगलबार

कलाकार