कला

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

काठमाडौं– चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। 

बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुग्दासम्म उनी अचेत अवस्थामा रहेका परिवारले जनाएको छ। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो।

भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ। अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ। 

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए। उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो। सोमबार दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो। 

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिए। त्यस्तै नेपाली कांग्रेसले पनि उनीहरुको निधन प्रति शोक वक्तव्य जारी गरेको छ। 

सयौँको सङ्ख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए। जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जलि दिए। 

अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिङ्गो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए। ‘उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो” राईले भने, ‘प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ।’ अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए। 

 ‘उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनुपर्छ भन्ने भावना थियो’ डिसीले भने ‘उहाँका अधुरा सपना पूरा गर्न हामी लागि पर्नेछौँ।’ अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताए।  

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। उनका श्रीमती र एक छोरा छन्। उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन्।  उनी आफैँ निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन्।

भट्टराईले आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन्।  रासस

प्रकाशित: ३० मंसिर २०७६ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App