कला

चित्रमा पंक्षी प्रेम

काठमाडौं - पंक्षीप्रेमी चित्रकार भिमप्रसाद शर्माले आफ्ना क्यानभासमा चराचुरुगींलाई प्राथमिकता दिएका छन्। शनिबारदेखि राजधानीको नेपाल कला परिषद्मा सुरु भएको उनको ‘सम्बन्धन’ नामक चित्रकला प्रदर्शनीमा उनले विभिन्न पक्षीहरुको भाव समेटेका छन्।

प्रदर्शनीमा राखिएको एक चित्रकलामा चित्रकार शर्माले भँगेरा र तिनका गुँडलाई मानिसको जीवनशैलीसँग तुलना गरेका छन्। ‘घर छोडेर मान्छे सुबिधा खोज्दै बसार्इँ सर्ने गरेको छ। तर, मान्छेसँग नजिकिएको भँगेरा मानिसले छाडिसकेको त्यही घर वरपर घुमिरहन्छ,’ उनले भने। सो प्रदर्शनीमा उनका ३५ वटा चित्रहरु प्रदर्शनमा राखिएका छन्। उनले अधिकांश चित्रकलामार्फत मानिस र भँगेराको जीवनशैलीलाई व्यक्त गरेका छन्। कलावती आर्ट काउन्सिल र हामी कलाकारले प्रदर्शनीको आयोजनामा गरेको थियो।

उनले पंक्षीप्रेमको भाव दर्साउन भँगेरी र बचेराबीचको मातृत्व देखाएका छन्। उनले काठमा कलात्मक तरिकाले चित्रकला कोरेका छन्। ‘पक्षीलाई मनपर्ने काठलाई मैले क्यानभासको रुपमा प्रस्तुत गरेको छु,’ उनले भने। यो उनको १० औं एकल चित्रकला प्रदर्शनी हो। प्रदर्शनी आगामी मंसिर २७ सम्म चल्नेछ।

प्रकाशित: २४ मंसिर २०७६ ०१:४४ मंगलबार

चित्र प्रेम पंक्षी