कला

मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी जोजिबिनीलाई

न्युयोर्क – यस वर्षको मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले जितेकी छिन्। जर्जियाको एटलान्टामा आयोजित मिस युनिभर्सको ६८औं संस्करणमा २६ वर्षीया टुन्जीले मिस युनिभर्सको ताज हात पारेकी थिइन्।

गत वर्षकी मिस युनिभर्स क्याट्रीओना ग्रेलेले उनलाई ताज लगाइदिएकी थिइन्। तपाई किन मिस युनिभर्सका लागि सही छनौट हो ? भन्ने निर्णायक प्रश्नमा उनले भनिन्, ‘म यस्तो संसारमा हुर्किएँ, जहाँ मेरो जस्तो छाला र कपाल भएको महिलालाई कहिल्यै सुन्दर मानिएन्। आजबाट त्यो अन्त्य हुनेछ। बालबालिकाले मलाई हेरुन र उनीहरुको अनुहारको प्रतिबिम्ब मेरो मुहारमा पाउन भन्ने चाहन्छु।’

लैंगिक हिंसाविरुद्धको अभियानमा सक्रिय उनी सबैले प्राकृतिक सुन्दरतालाई महत्व दिनुपर्ने बताउँछिन्। ‘हामी महिला जस्तो छौं। त्यसैमा खुसी भएर रमाउनु सक्नुपर्छ,’ उनले भनिन्। दक्षिण अफ्रिकाबाट मिस युनिभर्सको ताज जित्ने उनी पहिलो अश्वेत युवती हुन्।

‘एकताको शक्ति’ नाम दिइएको मिस युनिभर्सको ताज १८ क्यारेट सुन र १७ सय ७० वटा हिरा जडान गरिएर तयार गरिएको थियो। प्रतियोगितामा मिस पुयोर्टो रिको र मिस मेक्सिकोले क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप घोषित भएका थिए। मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रदिप्ता अधिकारीले ‘प्रारम्भिक तथा राष्ट्र्रिय पोशाक’ चरणमा बज्रयोगिनी अवतारसहित सहभागी भएकी थिइन्।

हाल मेडिकल अध्ययन गरिहेकी उनले ‘सबका लागि स्वास्थ्य हेरचाह’ नामक अभियान सञ्चालन गरेकी छन्। बाल मृत्युदरलाई निरुत्साहित पार्न लागिपरेकी उनले सो अभियानमार्फत निःशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान गरिरहेकी छिन्।

प्रकाशित: २४ मंसिर २०७६ ०१:३३ मंगलबार

मिस_युनिभर्स जोजिबिनी_टुन्जी दक्षिण_अफ्रिका