कला

टेलरको बचावमा सेलेना

न्युयोर्क - गायिका सेलेना गोमेज उनकी साथी अमेरिकी गायिका टेलर स्वीफ्टको बचावमा उत्रिएकी छिन्। उनले संगीत प्रबन्धक स्कुटर ब्राउनसँगको म्युजिक कपिराईटको लडाईका कारण अमेरिकी गायिका टेलर स्वीफ्ट ‘बिरामी र आक्रोशित’ भएको जनाएकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नी साथी गायिका स्वीफ्टको पछिल्लो अवस्थाबारे गायिका गोमेजले जानकारी गराएकी थिइन्।

संगीत प्रबन्धक स्कुटर ब्राउनले गायिका स्वीफ्टको गीतको क्याटलग खरिद गरेपछि उनको स्वरमा रहेको सबै गीतको कपिराईटको निम्ति वकिलसँग सहकार्य गरिरहेकी छिन्। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्वीफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो। गायिका स्वीफ्टलाई उनको स्वरमा रहेको पुरानो गीतहरू प्रस्तुत गर्न रोक लगाइएको छ।

‘मेरो मुटु अहिले अत्याधिक गह्रौं भएको छ,’ गायिका गोमेजले पोस्टमा उल्लेख गरेकी छिन्, ‘यसले मलाई बिरामी र अत्यन्तै क्रोधित बनाएको छ। यो शक्ति र लोभ हो। त्यहाँ कसैको हृदय छैन। मेरो साथीले लेखेका शब्दहरूका लागि कुनै सम्मान छैन ? तपाईले हाम्रो समयको एक उत्कृष्ट गीतकारलाई लुट्नु भएको छ।’

‘म टेलरलाई १३ बर्षदेखि चिन्छु। मैले चिनेकामध्ये उनी सबभन्दा समर्पित, निडर र बलियो महिला हुन्। मानिसले उनलाई गाली गर्न सक्छन्। तर, तिमी सत्यको पक्षमा समर्पित निडर महिला हौं,’ गायिका गोमेजले उल्लेख गरेकी छिन्।

गायिका गोमेजले स्वीफ्टको एल्बम ‘फेयरलेस’ को स्मरण गर्दै त्यसअघिको क्षण ‘सबभन्दा ठूलो रेकर्ड’ को रुपमा लिएकी थिइन्। गायिका स्वीफ्टको पक्षमा उनले पोस्टमा उल्लेख गरेकी छिन्, ‘फेरि तिम्रो सपनामा विश्वास गर। मैले तिमीले सुन्दर जीवनमा नयाँ सिर्जना गर्न निरन्तर चुनौतीको सामना गरिरहेको देखेकी छु। टेलरको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनको परिवार, प्रेम, उसका फ्यान र संगीत हो।’

‘यो दुर्भाग्यपूर्ण स्थितिमा हृदय परिवर्तन हुनेछ भन्ने आशा लिएको छु। मेरो सबैभन्दा मिल्ने साथी लगातार तानिनु भनेको नराम्रो अनुभूति हो। टेलर कहिल्यै झगडा गरेर रोकिने छैनन्। म केवल हृदय परिवर्तन चाहन्छु। म तिमीलाई माया गर्छु, ’गायिका गोमेजले पोस्टमा लेखेकी छिन्।

यसअघि गायिका स्वीफ्टले अमेरिकी म्युजिक अवार्डमा सांगीतिक प्रस्तुति दिने घोषणा गरेकी थिइन्। तर, संगीत प्रबन्धक ब्राउन र बिग मेसिन रेकर्डका संस्थापक स्कट बोर्चेटाले उनलाई सो अवार्डमा पुराना गीतहरू प्रस्तुत गर्न नपाउने बताएका थिए। उनीहरुले नेटफ्रिल्क्सले गायिका स्वीफ्टमाथि निर्माण गर्न लागेको डकुमेन्ट्रीको निम्ति पुराना गीत र फुटेजहरु प्रदान नगर्ने जानकारी गराएका थिए।

यसअघि गायिका स्वीफ्टले आफ्नो स्वरमा रहेको सबै गीतहरू पुर्नः रेकर्ड गर्ने योजना प्रकट गरेकी थिइन्। अमेरिकी मिडियासँगको अन्तर्वार्तामा तपाईले आफ्ना गीतहरूमा स्वामित्व पाउनका लागि पुनः रेकर्ड गर्ने विचार गर्नुभएको छ भन्ने प्रश्नको उत्तर दिँदै उनले भनेकी थिइन्, ‘विल्कुल सही कुरा हाे।’

गत वर्षमा गायिका स्वीफ्टले बिग मेसिन लेबललाई छाडेर युनिभर्सल म्युजिकसँग सम्झौता गरेकी थिइन्। सन् २००६ मा आफ्नै नामको पहिलो एल्बम निकालेपछि कन्ट्री सिंगरका रूपमा चर्चामा आएकी गायिका स्वीफ्ट, यो वर्ष विश्वको बढी कमाउने सेलेब्रिटीको सूचीमा परेकी थिइन्। उनको सांगीतिक यात्रालाई सम्मान गर्दै अमेरिकी म्युजिक अवार्डले यस वर्ष उनलाई ‘दशकको उत्कृष्ट आर्टिस्ट’ को प्रतिष्ठित सम्मान दिने भएको छ। गायिका स्वीफ्ट अमेरिकी म्युजिक अवार्डमा हालसम्म सबैभन्दा धेरै २३ वटा अवार्ड जित्ने गायिकाको रुपमा परिचित छिन्। उनले वर्षको उत्कृष्ट आर्टिस्ट, म्युजिक भिडियो र गायिका विधाका अवार्डहरु जितेकी थिइन्।

प्रकाशित: १ मंसिर २०७६ ०२:३६ आइतबार

सेलेना_गोमेज टेलर_स्वीफ्ट टेलर