कला

कवितामार्फत अतिक्रमित भूमि फिर्ता गर्न माग

काठमाडौं– नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन्।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५ औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भू–भाग अतिक्रमणको तीव्र विरोध गरे। समाजले प्रत्येक महिनाको अन्तिम बिहीबार शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको छ।

कार्यक्रममा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेका थिए। काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित ‘मेरो सम्झना’मा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण गरे। 

काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, डा जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा वनवासी, पुनम घिमिरे, विमला दाहाल सहित ३८ कविहरुले कवितावाचन गरेका थिए। रासस

प्रकाशित: २९ कार्तिक २०७६ ०७:३६ शुक्रबार

अतिक्रमित_भूमि कविता