कला

सातै प्रदेशमा ‘सप्तरंग–२’ हुँदै

काठमाडौं – सातै प्रदेशमा ‘सप्तरंग–२’ हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग–२’ हुने जानकारी गराएको थियो।

कार्यक्रम गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले ‘सप्तरंग’ मार्फत् सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैल्याउने बताए। ‘सातै प्रदेशमा रहेका समस्यालाई सचेतनामार्फत् समधान गर्ने हाम्रो प्रयास रहेको छ। त्यसबाहेक भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि कार्यक्रम गरिरहेका छौं। यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं,’ उनले भने। उनका अनुसार पहिलो संस्करण सद्भाव र ऐक्यवद्धतामा केन्द्रित भएको थियो।

कला संस्कृतिलाई उजागर गर्दै आगामी बुधबारदेखि बिर्तामोडबाट कार्यक्रम सुरु हुँदैछ। विर्तामोडलगत्तै कात्तिक २२ मा वीरगन्ज, २४ मा चितवन, २६ मा नेपालगन्ज, २८ मा सुर्खेत, ३० मा महेन्द्रनगर र मंसिर ४ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरंग–२’ मा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, जितु नेपाल र प्रकाश सपुतलगायत कलाकारहरु सहभागी भएका छन्।

‘यो कार्यक्रममार्फत् हामी कलाकार प्रत्यक्ष रुपमा दर्शकसँग सहकार्य गर्दैछौं। कारण यसले एक अर्काको विविधतालाई जोड्दैछ, ’ अभिनेता राजेश हमालले भने। पहिलो संस्करणमा सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो। यो संस्करणले सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट विभिन्न पर्यटकीय स्थानको प्रवद्र्धन गरिनेछ।

प्रकाशित: १९ कार्तिक २०७६ ०४:५१ मंगलबार

सप्तरंग प्रदेश