कला

जनकपुरमा नेपाल साहित्य महोत्सव हुने

जनकपुर – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने भएको छ। आगामी कात्तिक २२ देखि सुरु हुने नेपाल साहित्य महोत्सवमा साहित्य, कला र राजनीतिका विभिन्न पक्षमाथि बहसको आयोजना गरिने जानकारी महोत्सव निर्देशक अजित बरालले दिए।

‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवद्र्धन गर्ने र ज्ञान उत्पादन एवम् प्रसारणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ महोत्सवका निर्देशक अजित बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौं। अहिले आएर महोत्सवको जनकपुर संस्करण आयोजना गर्न लागेका हौं।’ महोत्सवको आयोजना बुकवर्म फाउन्डेसनले गर्दैछ।
जनकपुरको मणिमण्डपमा आयोजना हुने महोत्सवअन्तर्गतको ‘चुरे चिन्ता’ नामक सवालमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत सहभागी हुनेछन्। त्यसलगत्तै प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले जानकी (सीता) बारे प्रवचन दिनेछन्। महोत्सवअन्तर्गत ११ वटा सत्रहरु जनकपुरका जानकी मन्दिर परिसर, रेलवे स्टेसन, गोपाल धर्मशाला र गंगासागर पोखरीलगायत स्थानमा हुनेछन्।

नेपाल भ्रमण वर्ष २०२० का प्रदयोजक तथा महोत्सवको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए को राजनीतिक अन्योलता एवम् अस्थिरताका कारण जनकपुरको नकारात्मक छवि स्थापित भएको थियो,’ उनले भने, ‘तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन्। ती परिवर्तनलाई हामी यसै महोत्सवमार्फत देखाउन चाहन्छौं।’
त्यस्तै, ‘प्रदेश’ र ‘परदेश’ तथा ‘मधेश’ भन्ने छुट्टाछुट्टै सत्र सञ्चालन गरिनेछ। प्रदेश र परदेश विषयक सत्रमा मुख्यमन्त्री लालबाबु राउत तथा मधेश भन्ने सत्रमा कनकमणि दिक्षित तथा रामदयाल राकेशले बहस सञ्चालन गर्नेछन्। स्वाभिमान र अभिमान विषयक बहस सांसद गगन थापाले प्रदेश २ का सांसद रानी शर्मा तिवारी तथा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झासँग सञ्चालन गर्नेछन्।
विकासको खाकामाथि जनकपुरधाम उपमहानगरपालिका, वीरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुखबीच संवाद हुनेछ। त्यस्तै साहित्य महोत्सवमा सीमा संवाद, साहित्य सम्झनामा र कविता वाचनलगायतका सत्रहरु समेत समावेश गरिएको छ। महोत्सवमा तीन वटा पुस्तकहरु विमोचन हुनेछन्।

प्रकाशित: १७ कार्तिक २०७६ ०३:०८ आइतबार

नेपाल_भ्रमण_वर्ष साहित्य_महोत्सव