कला

शिल्पीको नाट्य यात्रा रोल्पामा

रोल्पा– रोजगारीका लागि बिदेशिएका श्रीमान र घरमा सासु ससुराले एक युबतीलाई बिभिन्न कोणबाट शंका गर्न थाले पछि गाउँभरिका बुहारीहरु बिरोधमा उत्रिन्छन। आमा समुह मात्रै नभएर गाउँभरिका सासु बुहारीले लामो समय छलफल गर्छन। अन्ततः व्यापक छलफलबाट सरल निकास निकाल्छन। सबैले कमजोरी महसुश गर्छन। 

शिल्पी नाट्य समुहले देशका बिभिन्न जिल्लामा सुरु गरेको कचहरी नाटकमा रोल्पालीलाई छोएको देखिन्थ्यो। महिला हिंसा, बालबिबाह र जाँड रक्सी जुवातासका बिरुद्धमा नाटक केन्द्रीत गरिएको छ। श्रीमान र सासु ससुराले शंका कै भरमा घरबाट बुहारी निकाल्न खोजेपछि कलाकारले दर्शकलाई नै सोध्छन ‘तपाईहरु यस्तै बुहारी भएको भए के गर्नु हुन्थ्यो?’ उत्तरमा दर्शक दीर्घाबाट ‘प्रतिबाद’ भन्ने जवाफ आउँछ।

उक्त कचहरी नाटक बिस्तारै छलफल तिर मोडिन्छ। जनप्रतिनिधि, स्थानीय बुद्धिजीबि, प्रहरी, आमा समुहबीच ब्यापक छलफल हुन्छ। महिला हिंसा जस्तै बालबिबाह र जाडरक्सी जुवातासका बिषयमा पनि यस्तै छलफल हुन्छ। कलाकारको करिब ४५ मिनेटको दमदार प्रस्तुती पछि समुहमै छलफल हुन्छ। दर्शकका चासोमा जनप्रतिनिधि र प्रहरीले सकेजतिको जवाफ दिन्छन।

सुर्खेत, दैलेख, जाजरकोट, बर्दिया, कन्चनपुरका बिभिन्न भागमा नाटक प्रर्दशन गरेर रोल्पा आएको टोलीले त्रिबेणी गाउँपालिकाको नेर्पा र लिङदुङमा कार्यक्रम गरेको हो। ‘हामी घर्तीगाउँ हुँदै थवाङ पुगेर सुनसरी मोरङ तर्फ जानेछौ।’ शिल्पी नाट्य समुहका निर्देशक युबराज घिमिरेले भने ‘यो कार्यक्रम प्रहरी संगको सहकार्यमा गरिरहेका छौ।’

नाटक सुरु देखि अन्तिमसम्म चासोका साथ हेरेर छलफलमा समेत सहभागी भएका त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले कार्यक्रमको खुलेर प्रशंसा गरे। ‘हाम्रै गाउँघरका समस्या नाटकमा समेटिएका छन्’, अध्यक्ष ओली भन्छन ‘यस्ता सामाजिक घटनामा प्रस्तुत गरिने कथा र कलाकारको जीवन्त अभिनयले मानसिक रुपमा परिबर्तन गर्न मद्धत पुग्नेछ ।’

 

प्रकाशित: १५ कार्तिक २०७६ ०५:५७ शुक्रबार

शिल्पी नाटक रोल्पा