कला

केरुङमा नेपाली हस्तकला

रसुवा – नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ। केरुङको स्थानीय सरकारको आयोजनामा नेपाल हस्तकला महासंघले गत कात्तिक २ देखि ८ सम्म आयोजना गरेको मेलामा धातुका मूर्ति, पस्मिना, थाङ्का, ऊनी, टेक्साइल, गार्मेन्ट तथा चाँदीका गरगहना प्रदर्शनमा राखिएका छन्।

मेलामा नेपाली टोलीको २३ वटा स्टलहरु राखिएका छन्। मेलामा सहभागी भएका पूर्णबहादुर शाक्यका अनुसार नेपाली हस्तकलाका सामग्री चीन निर्यात हुँदै आएको छन्। ‘चिनियाँ बजारमा नेपाली हस्तकलाको माग उच्च रहेकाले मेलामा नेपाली सामग्रीको बिक्री बढ्ने अनुमान गरेका छौं। मेलामा मूर्ति, चाँदी, तामा र पित्तलको सामग्री, पस्मिना, गलैंचा र थाङ्कालगायत राखिएा छन्,’ उनले भने, ‘एक सातासम्म सञ्चालन हुने मेलामा नेपाली हस्तकला तथा ललितकलाका सामग्री प्रदर्शनी तथा बिक्री भइरहेका छन्।’

मेला पस्मिनाको स्टल राखेका मनिस महर्जनले व्यापार बढ्ने अपेक्षा गरेका छन्। ‘हामीले नेपाली हस्तकला तथा ललितकलाको प्रवद्र्धन गरिरहेका छौं। मेलामा सिगात्से तथा ल्हासाबाट सर्वसाधारण आइरहेका छन्। चिनियाँ नागरिकले नेपाली पस्मिना मन पराउने गरेको हुँदा बिक्री बढीरहेको छ।’

हस्तकला महासंघ उपनिर्देशक ऋषिराज सुवेदीका अनुसार मेलाले नेपाली हस्तकलाको प्रवद्र्धन गरिरहेको छ। ‘नेपाली हस्तकला चीनको बजारमा प्रवद्र्धन गर्न मेलाको आयोजना गरेका हौं। मेलामा नेपाली २५ कम्पनी तथा फार्मले हस्तकला प्रदर्शन गरिरहेका छन्,’ उनले भने।

मेलाले नेपाली तथा चिनियाँ सामग्री, पर्यटन तथा संस्कृतिको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘मेलामा नेपाली हस्तकलाको प्रवद्र्धन गरिरहेका छौं। यसमा नेपाली, चिनियाँ तथा तिब्तियन संस्कृति प्रस्तुत गरिएको छ,’ उनले भने।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:४५ बुधबार

नेपाली_हस्तकला