कला

विवादित गीत हटाएपछि छुटे दुर्गेश

काठमाडौं – तिहारलाई लक्षित गर्दै गायक दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीत युट्युबबाट हटाएका छन्। उनले गीत हटाउँदै सार्वजनिक रुपमा माफी मागेपछि महानगरीय अपराध महाशाखा टेकुले उनलाई छाडेको थियो। यसअघि ‘ह्याप्पी तिहार’ गीतविरुद्ध काठमाडौं जिल्ला कार्यालयमा उजुरी परेपछि महाशाखाबाट खटिएका प्रहरीले उनलाई मंगलबार नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

उनले सार्वजनिक रुपमा गल्ती भएको स्वीकार्दै कलाकार समाजप्रति जिम्मेवार हुनुपर्ने बताएका थिए। ‘मबाट गल्ती भयो। यसका लागि म माफी माग्छु। समाजप्रति कलाकार जिम्मेवार हुनु पर्छ,’ प्रहरी नियन्त्रणबाट छुटेलगत्तै उनले प्रतिक्रिया दिएका थिए, ‘यो गीत मैले पूर्ण रुपमा आफ्नो युट्युब च्यानलबाट हटाएको छु।’

पक्राउ परेपछि युट्युबमा राखिएको ‘ह्याप्पी तिहार’ गीत हटाउने लिखित सहमति भएपछि मंगबार गायक थापालाई महाशाखाले छाडेको थियो। महाखाशाका प्रवक्ता केदार ढकालले विवादका कारण ‘ह्याप्पी तिहार’ गीत युट्युवबाट हटाउन लगाएर र अब यस्तो नगर्ने सर्तसहित छाडेको जानकारी दिए। ‘यस्तो गीत समाजको लागि अपाच्य छ। सो गीतमा धुम्रपान, मादक पदार्थ, गाँजा सेवन गरेर तिहार मनाइन्छ भन्ने सन्देशलाई प्रोत्साहन गरिएको छ। कलाकार समाजप्रति जिम्मेवार हुनु आवश्यक रहेको छ,’ उनले भने, ‘समाजलाई बिगार्ने र भड्काउने खालका गीत गाउनु हुँदैन।’ उनका अनुसार उनीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो। गायक थापामाथि देउसी भैलो गीत बिगारेर ‘गाँजा’ लाई प्रवद्र्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पु‍-याएको आरोप लागेको थियो।

गत असोज २१ मा भड्किला शब्द प्रयोग गरेर युट्युबमार्फत सार्वजनिक भएको उनको ‘ह्याप्पी तिहार’ गीतले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी पाइरहेको थियो। सो गीतले नेपाली चाडपर्वको नाममा मदिरा र लागुऔषधलगायतलाई प्रोत्साहिन गरेको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका थिए।

लागूऔषध नियन्त्रण ऐन २०३३ ले वर्जित गरेको मदिरा शब्दको प्रचार गर्दै उनले गीत गाएका थिए। तिहारको संस्कारमाथि विकृति फैलाउन गीतले प्रोत्साहन गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को मर्मलाई प्रहार गर्दैे गीतले धर्म, संस्कृति र जातिमाथि आघात पु-याएको थियो। सो गीतले तिहारको नाममा मदिरालाई प्रसाद र भड्किलो बनाएर नेपाली संस्कृतिमाथि आघात पु-याएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले कारबाहीको माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। काठमाडौं जिल्ला प्रशासन कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल प्रहरीलाई कारबाहीको मागसहित पत्राचार गरेपछि गायक थापालाई नियन्त्रणमा लिएको थियो। नेपाली समाजमा विकृति फैलाउने कामलाई प्रोत्साहन नगर्ने लिखित सम्झौता गरेपछि प्रहरीले उनलाई छाडेको थियो। गायक थापाले गल्ती गरेको स्वीकार्दै गीत हटाएको प्रतिक्रिया दिएका छन्।

ह्याप्पी तिहार ह्याप्पी तिहार, चिसो बियर
डन आयो डन, जा मूला भन,
राजा हो राजा, बजाइ दिन्छ बाजा,

ए निकाल गाँजा, खानुपर्छ आज,
लुटेको माल हुँदा सबैको राज..

उल्लेखित गीतको भिडियोमा मदिरालाई प्रोत्साहन गर्दै उनले भिडियो सार्वजनिक गरेका थिए। अधिवक्ता न्यौपानेका अनुसार नेपाली गीत संगीतमा सक्रिय स्रष्ट्राहरु नेपाली समाजप्रति जिम्मेवार हुन आवश्यक रहेको छ। ‘गीत र संगीतमा लाग्ने स्रष्ट्रा जिम्मेवार हुनु आवश्यक रहेको छ। चर्चा कमाउन समाजमा असर पार्ने खालका गीत र संगीत गाउने कलाकार समाजप्रति जिम्मेवारी हुन सक्दैन्। यो हाम्रो लागि समेत पाठ हो,’ उनले भने।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:२९ बुधबार

विवादित_गीत