कला

कलामा शान्ति र भातृत्वको खोजी

काठमाडौं - दक्षिण एसियामा शान्ति र भातृत्व विकास गर्न आयोजित ‘क्रियटिभ फर बोन्ड बियोन्ड’ नामक कला प्रदर्शनी आयोजना भएको छ। गत असोज ३० देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कला प्रदर्शनीमा नेपाल, भारत र बंगलादेशका कलाकारहरुले तयार गरेको कलाकृति प्रदर्शनमा राखिएको थियो। भारतको सर्वभारतीय संगीत ओ संस्कृति परिषद्ले आयोजना गरेको प्रर्दशनीमा भारतका ७२, नेपालका १४ र बंगलादेशका चार जना चित्रकारहरुको कला प्रदर्शनीमा समावेश गरिएको थियो।

प्रदर्शनीमा चित्रकलासँगै ग्राफिककला, फोटोग्राफी र डिजिटल प्रिन्टलगायतका माध्यमबाट कलाहरु प्रस्तुत गरिएको थियो। जसमा चित्रकला मात्रै दुई सयभन्दा बढी भएको आयोजकको भनाई छ। भारतबाट कार्यक्रम आयोजकको प्रतिनिधित्व गर्दै आएका भारतीय चित्रकार सुशान्त सरकारले नेपालमा नेपाली चित्रकारहरुसँगसँगै बसेर काम गरेको र नेपालीहरुको बोल्ने शैली रहनसहन र काम गर्ने तरिका मन परेको हुनाले अहिले सो प्रदर्शनी आयोजना गरेको बताए।

‘चित्रकलाले संसारका जो सुकै व्यक्तिलाई पनि एकै ठाउँमा जुटाउँछ,’ सरकारले भने, ‘कलाले सधैं शान्ति चाहन्छ र धेरैलाई जोड्ने गर्छ, त्यसैले यस्ता गतिविधि गरिरहन मन लाग्छ ,’ उनले थपे, ‘नेपाली चित्रकारलाई कलाकारितासम्बन्धी गतिविधि गर्न हाम्रो देशमा सधैं स्वागत छ।’ उनले आफुले कोरेको गौतम बुद्धको आकृतिलाई प्रदर्शनीमा समेटेका थिए। उनकोजस्तै भारतबाट सुरज सुनुवारले भगवान गौतम बुद्धको आकृतिलाई दृश्यचित्रमा उतारेका छन्। ‘शान्ति नै जीवन’ शीर्षकको बुद्धको चित्रलाई कलात्मक रुपमा उतारेका छन्। त्यस्तै भारतीय चित्रकार सुजित कुमार मान्नले ‘स्प्रिङ् टाइम’ शीर्षकको चित्रमा फूलमाथि चरा बसेको चित्रलाई प्रस्तुत गरेका छन्।

नेपाली चित्रकार नरेश सैजुका ‘दृश्यचित्र’ शीर्षकका तीन वटा चित्रहरु पनि प्रदर्शनीमा राखिएका थिए। बढी मात्रामा प्रकृतिसँग सम्बन्धित चित्र कोर्न रुचाउने चित्रकार सैजुले गौरीशंकर हिमाल, कालिञ्चोक र पाटनको दृश्यलाई कलात्मक रुपबाट क्यानभासमा उतारेका छन्। गौरीशंकर हिमालमा प्रदुर्षणका कारण हिउँ कम हुँदै गएको विषयलाई समेट्ने प्रयास गरेको उनको भनाई छ। त्यस्तै, कोटेश्वरस्थित आफ्नै घरको छतबाट देखिने पाटनको दृश्यलाई चित्रमा उतारेको उनले बताए। चित्रकार जीवन राजोपाध्यका तीन वटा अर्मूत खालका चित्रकलालाई प्रदर्शनीमा राखिएको थियो। चित्र कोर्ने क्रममा नयाँ रङ्को प्रयोग र खोजी गर्न रुचाउने उनले आफ्नो कलामा सुनौलो रङ्को प्रयोग गरेका छन्। रंग र चित्रको सम्बन्ध नङ र मासुको जस्तै अपरिहार्य भएतापनि रङको अर्थलाई शब्दमा व्याख्या गर्न नसकिने उनी बताउँछन्।

त्यस्तै चित्रकार रत्नकाजी शाक्यको ‘ग्लोबल वार्मिङ’ शीर्षकको कला प्रदर्शनीमा समेटिएको थियो। उनले हिमालमा वार्मिङ हुँदा हिउँ पग्लिदै जाने र हिउँ पग्लि सकेपछि बाँकी रहेको चट्टानलाई क्यानभासमा उतारेका छन्। चित्रकार कान्ति न्यौपानेले हिमाली भेगको दृश्यलाई उतारिएको चित्रकला प्रदशनीमा राखेकी थिइन्।

प्रकाशित: ४ कार्तिक २०७६ ०२:३७ सोमबार

कला भातृत्व