कला

हिंसाविरुद्ध आवाज उठाउन एन्जेलिनाको आग्रह

लन्डन – हलिउड अभिनेत्री एन्जेलिना जोलीले महिला र बालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आग्रह गरेकी छिन्। लन्डनमा विश्वविद्यालयअन्तर्गत लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका विद्यार्थीहरू पढाउन पुगेकी अभिनेत्री जोलीले महिला र बालिकामाथि हुने हिंसा अन्त्यको लागि नीतिगत परिवर्तनमा जोड दिएकी थिइन्।

लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सको सेन्टर फर वुमन, पिस एन्ड सेक्युरिटीकी अतिथि महिला, शान्ति र सुरक्षा अतिथि प्राध्यापक अभिने त्री जोली शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त विशेष दूत हुन्। जहाँ उनले महिला, शान्ति र सुरक्षामा अध्ययरत विद्यार्थीलाई १८ वर्षको अनुभव सुनाएकी थिइन्।

‘वास्तविक महिलाले पुरुषहरुलाई हेप्दैनन्। छलफल र सहकार्य गरेर अघि बढ्न रुचाउँछन्। महिला र बालिकामाथि हुने विभिन्न खालका हिंसामा पुरुषहरू दोषी भएपनि उनीहरू शानले हिड्ने गरेका छन्,’ उनले भनिन्।

उनले महिला र बालिकामाथि हुने हिंसाविरूद्ध आवाज उठाउन नीतिगत परिवर्तन आवश्यक रहेको हुँदा छलफल र सहजीकरण गरिनुपर्नेमा जोड दिएका थिइन्। अभिनेत्री जोलीले सो विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूसँग छलफल गरेको तेस्रो वर्ष हो। द्वन्द्व क्षेत्रमा हुने यौन हिंसा रोकथामको लागि उनले बेलायतको पूर्व विदेशमन्त्री विलियम हेगसँग सहकार्य गरेर सञ्चालन गरेको अभियान चलिरहेको छ। यो अभियानले द्वन्द्वग्रस्त क्षेत्रमा हुने बलात्कारका घटनालाई अन्त्य गर्न संसारभर काम गरिरहेको छ।

गत अप्रिलमा संयुक्त राष्ट्रसंघले संसारभरको रक्षामन्त्रीहरूको सभामा बोल्दै उनले महिला शान्ति सेनाको भूमिका विस्तार गर्न आग्रह गरेकी थिइन्। ‘महिला र बालिकाहरू अझैपनि युद्धको सिकार भइरहेका छन्।

आधुनिक द्वन्द्वको केन्द्रमा महिला र बालिकाहरू पर्ने गरेका छन्। तर, राजनीति र आफ्नो भविष्यको निर्णय गर्न उनीहरूलाई स्वतन्त्रता छैन्। जबसम्म हामी महिलाको अधिकार र सहभागिताको लागि सबै मुद्दाहरूलाई अगाडि बढाउछौं, तबसम्म हामी हिंसा र द्वन्द्वको चक्रमा अडिनेछौं,’ उनले भनेकी थिइन्।

आगामी अक्टोबर १८ देखि रिलिज हुन लागेको उनी अभिनित ‘मेलफिसेन्टः मिस्ट्रेस अफ ईभिल’ फिल्मबारे समेत उनले बोलेकी थिइन्। छ वर्षपछि अभिनेत्री जोली अभिनित मेलफिसेन्ट फिल्मको सिक्वेल संसारभर रिलिज हुन लागेको हो।

यसअघि सन् २०१४ मा मेलफिसेन्ट प्रदर्शनमा आएको थियो, जसमा उनले मुख्य भूमिका निभाएकी थिइन्। अहिलेको सिक्वेल फिल्ममा एली फेनिङ, सेम रिले, इमेल्डा स्टान्टन, जूना टेम्पल,लेसले मेनविलेलगायत कलाकारले अभिनय गरेका छन्। यस फिल्मको हिन्दी संस्करणमा बलिउड अभिनेत्री ऐश्वर्या रायले अभिनेत्री जोलीको आवाज हिन्दीमा डब गरेकी छिन्।

प्रकाशित: ३० आश्विन २०७६ ०२:३९ बिहीबार

हिंसा एन्जेलिना