कला

ग्रेसले बनाएको अन्तर्राष्ट्रिय भिडियो दोस्रो

वासिङटन डिसी – नेपाली विद्यार्थीले बनाएको अन्तर्राष्ट्रिय भिडियो दोस्रो भएको छ। विश्व खाद्य दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (आईएफपीआरआई) द्वारा आयोजना गरिएको ‘मेरो खाना, हाम्रो भविष्य’ नामक अन्तर्राष्ट्रिय छोटो भिडियो प्रतियोगितामा स्नातक तहमा अध्ययरत कृषि विज्ञानकी विद्यार्थी ग्रेस तिवारीले बनाएको भिडियो दोस्रो भएकी थियो।

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानले वार्षिक रूपमा आयोजना गर्ने सर्ट भिडियो प्रतियोगिताको युवा समूहको उपविजेता घोषित हुँदै २२ वर्षीय ग्रेसले दुई सय ४० अमेरिकी डलरको पुरस्कार प्राप्त गरेकी छिन्। प्रतियोगितामा उनले ‘विकासका लागि परिवर्तन’ शीर्षकको दुई मिनेटको भिडियो समावेश गरेकी थिइन्। जसमा उनले ‘किसानको खेती स्कुल’ स्थापनाको लागि वकालत गर्दै ग्रामीण क्षेत्रका युवा किसानहरूलाई बाली विकास, घाटा व्यवस्थापन गर्ने अभ्यास र ज्ञान आदानप्रदानको लागि मञ्च प्रदान गर्न जोड दिएकी थिइन्।

सो समूहमा मेक्सिकोको टोली विजेता घोषित हुँदै पाँच सय अमेरिकी डलर जितेका थिए। प्रतियोगितामा पाँच महादेशको प्रतिनिधित्व गर्दै १९ देशका विद्यार्थीहरूले भाग लिएका थिए।

प्रकाशित: ३० आश्विन २०७६ ०२:३४ बिहीबार

अन्तर्राष्ट्रिय_भिडियो विश्व_खाद्य_दिवस