कला

दलाई–लामा ‘नवदुर्गा’

काठमाडौं - ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन भइरहेको दलाई–ला आर्ट स्पेसमा कलात्मक चित्रकला झुण्डाइएका छन्। भैरवको प्रतिमालाई कलात्मक चित्रकलामा प्रस्तुत गरेर चित्रकार मीना कायस्थले प्रदर्शनीमा राखेकी छिन्। गत असोज १५ देखि सुरू भएको उनको एकल कला प्रदर्शनीमा नवदुर्गाको सिरिज समेटिएको छ।

‘डिभाइन डेब्रिस्’ नामक कला प्रदर्शनीमा उनले तयार गरेका नवदुर्गाका विभिन्न आकृति राखिएका छन्। प्रदर्शनीमा नवदुर्गाबाहेक विभिन्न देवीदेवताहरूको चित्रकलासमेत समावेश गरिएका छन्। विनासकारी भूकम्पपछि भक्तपुरमा वेवारिसे अवस्थामा रहेको ढोकामा उनले कला थपेकी छिन्। सो ढोकामा उनले विभिन्न देवीदेवताका आकृति बनाएकी छिन्।

‘समाजले वेवास्ता गरेका सामाग्रीमा कला समेट्न सकिन्छ भन्ने आत्मविश्वासहित काम सुरु गरेको थिए, ’ उनले भनिन्। भैरव र शिवको अवतारलाई उनले सुन्दर ढंगले प्रस्तुत गरेकी छन्। ‘गड ब्रहमायनी’ शीर्षकको चित्रमा उनले एक सृष्टि देवीको आकृतिलाई देखाएकी छन्। हंसलाई ब्रहमायनीको सवारी मान्दै उनले देवीको शिरमा सेतो रंग प्रयोग गरेकी छिन्।

जुनसुकै चित्र तयार गर्दा पनि विभिन्न किसिमका सामग्रीको प्रयोग गर्ने उनले बताइन्। फ्याँकिएका सामग्रीको पुनः प्रयोग गरेर नयाँ रुप दिन सकेमा आफ्नो कला सिर्जनात्मकतामा पुग्ने उनको बुझाई छ। आफ्नो कलामा प्रयोग भएका ढोकाले विनाशलाई प्रतिनिधित्व नगरेर सुरक्षा र मुक्तिको प्रतीक भएको उनी बताउँछिन्। ‘गड कुमारी’ शीर्षकको चित्रकलामा कुमारीको खुट्टालाई समावेश गरेकी छिन्। ‘कुमारीको गाडी मयुर भएकाले उनी इमान्दारिता र संरक्षण सिकाउँछिन्। कुमारीको गोलाकार अनुहारले यौन उत्सर्जन गरेको छ।’ चित्रमा ढोकालाई प्राथमिकता दिएकी उनले ढोकालाई नेतृत्व र नयाँ सम्भावनाहरुको प्रतीकको रुपमा प्रयोग गरेकी छिन्। महिलालाई अवसर दिए ढोका जत्तिकै सक्षम हुने तर्क उनको रहेको छ। प्रदर्शनी कार्तिक १३ सम्म चल्नेछ।

प्रकाशित: २७ आश्विन २०७६ ०३:३१ सोमबार

दलाई–लामा