कला

सेलिब्रिटीका दसैं: स्वदेशदेखि विदेशसम्म

काठमाडौं - एक्सन कटमा रमाउने कलाकारहरूले दसैंलाई धुमधाम नै मनाए। तर, उनीहरूका दसैं भिन्नभिन्न रह्यो। कसैले स्वदेशमै टिका लगाएर मनाए कसैले विदेशमा टिका लगाए। कसैलाई फिल्म प्रमोसनको चटारोले भ्याइनभ्याइ बनायो भने कसैलाई पारिवारिक जमघटमा रमाउन फुर्सद मिल्यो।

दसैं मनाउने उत्साहित रहने अभिनेत्री केकी अधिकारी यसपालि ‘छ माया छपक्कै’ फिल्मको प्रवद्र्धनमा व्यस्त रहिन्। शुक्रबारदेखि रिलिज भएको ‘छ माया छपक्कै’ फिल्म प्रमोसन र दसैंको चटारोले उनको व्यस्तता बढाएको थियो। ‘यो वर्षको दसैं मेरा लागि विशेष रह्यो । कारण दसैंको टिका र म अभिनित फिल्म ‘छ माया छपक्कै’ फिल्म रिजिल भएकाले दसैंको रमझमभन्दा फिल्मप्रतिको उत्सुकताले आत्तिएको छु ,’ उनले भनिन्। बाल्यकाममा विराटनगरमा गएर दसैं मनाउने उनलाई पिङ र चंगा खेलेर मनाएको दसैं मनपर्छ।

अर्की अभिनेत्री प्रियंका कार्कीले दसैं मनाउन सुटिङ र विदेशमा आयोजना हुने कार्यक्रमबाट छुट्टी लिइन्। उनले परिवार र आफन्तसँग टिका थापेर दसैं उत्साहजनक शैलीमा मनाइन्। अभिनेत्री निता ढुंगानाले फिल्म सुटिङको चटारोबाट ब्रेक लिएर दसैं मनाउन पुर्खौली घर हेटौंडा पुगिन्। ‘मलाई सबैभन्दा मनपर्ने पर्व दसैं आफन्त र अग्रजहरूसँग टिका थापेर आशीर्वाद लिएर मनाउने अवसर मिल्यो,’ उनीले भनिन्।

गायिका मेलिना राईले यसपालि दसैं मनाइनन्। दसैं खल्लो भएपनि उनले आफन्तहरूसँग भेटघाट भने गरिन्। राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वली यसवर्ष दसैं मनाउन अष्ट्रेलिया पुगेकी थिइन्। उनका अनुसार नेपालभन्दा विदेशमा बस्ने नेपाली समुदायमा दसैंको महत्व धेरै हुने भएकाले अष्ट्रेलिया पुगेको उनले बताइन्। ‘संसारभर नेपाली समुदाय पुगिसकेको हुँदा यसपटकको दसैं अष्ट्रेलियामा मनाए।

नेपालमा पाँच दिन मनाउने दसैं विदेशमा रहेका आफन्तसँग भेटघाट गरेर मनाउन अष्ट्रेलिया पुगेकी हुँ,’ उनले भनिन्। प्राय विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममा व्यस्त रहने गायिका तिर्सना गुरुङ दसैं मनाउन पुर्खौली घर नवलपरासी पुगेकी थिइन्। ‘राजधानी आएको १६ वर्षपछि पुर्खौली घर नवलपरासी पुगेर दसैं मनाउने अवसर मिल्यो। आफन्त र परिवारका सदस्यबीच दसैंको टिका र आशीर्वाद थाप्दाको अनुभव रमाइलो भयो,’ उनले भनिन्।

हाँस्यकलाकार सिताराम कट्टेलले ललितपुरस्थित घरमा श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’, छोरी र आफन्तसँग दसैं मनाए। ‘दसैंले गर्दा केही दिन कामबाट फुर्सद निकालेर आफन्त र परिवारसँग जमघट गर्न पाइन्छ। यसपटकको दसैं परिवार र आफन्तसँग मनाउनु पाइयो,’ उनले भने। कलाकारहरूका टोलीले भेटघाट गरेर दसैं मनाएर शुभकामना आदानप्रदान गरेको थिए।

चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा निर्देशक यादव खरेल, हरिहर शर्मा, कृष्ण मल्ल, अध्यक्ष आकाश अधिकारी, लक्ष्मी गिरी, टीका पहारी, आरपी पन्त, आनन्द कार्की र सीताराम पोखरेललगायतले टिका लगाएर ३१ रुपैयाँ दक्षिणा समेत पाएका थिए। प्राय आफन्त भेट्न अमेरिका पुग्ने अभिनेता राजेश हमालले यसपटक दसैंको दिनको टीका लगाउन पाएनन्। सो दिन उनको आमाको श्राद्ध पर्ने भएकाले दसैंको भोलिपल्ट उनले टिका लगाए।

अभिनेत्री ऋचा शर्माले आमा र हजुरआमाको हातबाट टीका लगाएर दसैं मनाइन्। निर्देशक दीपाश्री निरौला, दीपकराज गिरी, प्रकाश सपुत र अदिती बुढाथोकीलगायतले परिवारसँग दसैं मनाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए। कलाकार बुद्धि तामाङ यसपालि फिल्मको चटारोबीच दसैं मनाउन काभ्रेस्थित गाउँ पुगे। तामाङ समुदायमा प्रचलित सेतो टीका लगाएसँगै कुलपूजामा सहभागी हुन उनी काभ्रे पुगेका थिए।

‘दसैंमा आफन्त र परिवारसँगको भेटघाट हुने भएकाले जहिल्यै विशेष हुने गर्छ। यसपटक कुलपूजासमेत परेकाले फिल्मको चटारोबाट फुर्सद मिलाएर दसैं मनाउन गाँउ पुगियो,’ उनले भने। हाँस्यकलाकार हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको हातबाट टिका लगाएर दसैं मनाए। अभिनेता अनमोल केसीले बुबा भुवन केसी र परिवारका अन्य सदस्यहरूको हातबाट टीका लगाएका थिए।

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईटेल र वर्षा राउत रसंजोग कोइरालाले परिवारिक जमघटमा दसैं मनाए। त्यस्तै अभिनेत्री रेखा थापा, करिश्मा मानन्धर र दीपक बज्राचार्यलगायतले आफन्त र परिवारसँग दसैं मनाएका थिए।

प्रकाशित: २६ आश्विन २०७६ ०२:०८ आइतबार

सेलिब्रिटी दसैं