कला

दसैंमा बाजागाजामय भक्तपुर

भक्तपुर – दसैंसँगै भक्तपुर बाजागाजामय बनेको छ। परम्परागतदेखि आधुनिक बाजागाजामा रमाउँदै भक्तपुर आसपास विभिन्न सांगीतिक महोल देखिएको छ। घटस्थापनासँगै सुरु भएको दसैंको मेलामा बाजागाजा बजाएर दिनभर नाचगानमा रमाउने युवा पुस्ताको चहलपहल बढेको छ।

दैनिक फरक धार्मिकस्थलमा विभिन्न टोलबाट निकालिएका बाजागाजा तथा मानिसको भेलाले मेलाको रौनक बढाएको छ। यस्ता मेलामा बजाइने बाजामा युवाहरुको सहभागिता अध्याधिक रहेको छ। धिमे, बासुँरी र झ्यालीलगायत बाजागाजा युवायुवतीले बजाउने गरेका छन्।

दसैंको अवसरमा विभिन्न शक्तिपीठमा दैनिक मेला लाग्ने गर्दछ। मेला भर्न भक्तपुरका विभिन्न नगर र टोलबाट बाजागाजासहित शक्तिपीठमा पुग्ने गरेका छन्। बाजा बजाउँदा संस्कृतिको जगेर्ना मात्रै नभई रमाइलो महसुस हुने भएकाले यसप्रति रुचि लागेको युवायुवती बताउँछन्। ‘बाजागाजा बजाउँदा रमाइलो लाग्ने भएकाले यसप्रति आकर्षित भएको हुँ,’ धिमे बाजा बजाएर मेला भर्न आएका किरण श्रेष्ठले भने, ‘बाजागाजा बजाउँदाको मज्जै भिन्न हुँदो रहेछ।’

बाजागाजा बजाएर आउने युवतीको संख्या पनि उत्तिकै रहेको छ। पहिला पुरुषलेमात्र बजाउने बाजागाजाप्रति अहिले भने महिलाको सहभागिता बढेको छ। बाजागाजाको टोलीमा झ्याली बजाएर आएकी सृजना मुस्याख्वले प्रशिक्षणमा सहभागी भएर बाजागाजा सिकेको बताइन्। भक्तपुरमा विभिन्न संस्थाले धिमे, बाँसुरीलगायत बाजागाजाको प्रशिक्षण दिँदै आएका छन्।

संस्कृतिविद् जननीप्रसाद मुलले बाजागाजाप्रति युवाको आकर्षण बढेको बताए। ‘युवा पुस्ताको रुचि परम्परागतदेखि आधुनिक बाजागाजाप्रति बढ्दै गएको छ। यही कारण विभिन्न समयमा हुने जात्रा र पर्वमा भक्तपुरमा बाँसुरी र धिमेलगायत बाजागाजाले गुन्जायमान हुने गरेको छ,’ उनले भने।

प्रकाशित: १७ आश्विन २०७६ ०४:०० शुक्रबार

बाजागाजामय सांगीतिक_महोल