कला

दसैंअघि धमाधम पुस्तक सार्वजनिक

काठमाडौं – दसैंलाई केन्द्रित गरेर प्रकाशन गृह र साहित्यकारहरु धमाधम आ–आफ्नो पुस्तक सार्वजनिक गरिरहेका छन्। यता पाठकहरु दसैंमा पुस्तक पढ्ने योजनासहितका स्ट्याटस लेख्दै सामाजिक सञ्जाल पुस्तकका चाङ राखेर फोटो राखिरहेका छन्। पुस्तक पढ्ने पाठकहरु दसैं छुट्टीको सदुपयोग गर्न विभिन्न पुस्तक किन्न लागिपरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा बजारमा आएका नयाँ पुस्तकको चाङ राख्दै ग्रिस्मा कार्कीले लेखेकी छिन, ‘पुस्तक पढ्नको लागि दसैं छुट्टीको गतिलो अवसर हो।’

पछिल्ला वर्षमा उनीजस्ता पाठकलाई लक्षित गरेर नेपालका प्रकाशकहरू दसैंलाई लक्षित गरेर पुस्तक बजारमा ल्याउने क्रमले तीव्रता पाएको छ। फाइन प्रिन्टले दसैंको संघारमा मदन पुरस्कार विजेता अमर न्यौपानेको ‘गुलाबी उमेर’ र डा. सन्दुक रुइतको जीवनी सार्वजनिक गरेको थियो। प्रकाशक नीरज भारीका अनुसार दसैंमा तुलनात्मक रुपमा पुस्तक किन्ने पाठकको संख्या ह्वात्तै बढ्ने गरेको छ। ‘दसैंको लामो छुट्टीलाई लक्षित गरेर विभिन्न प्रकाशकहरुले पुस्तक सार्वजनिक गरिरहेका छन्। दसैं केन्द्रित गरेर धेरै पुस्तकहरु बजारमा आएका छन्। यो प्रकाशकको लागि व्यापार गर्ने सही अवसरसमेत हो। पाठकहरु लामो छुट्टीको सदुपयोग गर्नका लागि पुस्तक किन्ने हुँदा हामीले हरेक वर्ष दसैंलाई लक्षित गरेर बिक्री हुने खालका पुस्तक निकालिरहेको छौं,’ उनले भने, ‘दसैंलाई केन्द्रित गरेर निकाल्ने भनेर हरेक प्रकाशकले पुस्तक छुटाउने गरेका हुन्छन्।’

बुकहिल प्रकाशनले दसैंलाई लक्षित गरेर लेखक संजीव उप्रेतीको ‘हंस’, चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’, उषा शेरचनको ‘आधि’, सरुभक्तको ‘प्रतिगन्ध’ र रुपेश श्रेष्ठको ‘घिन्ताङ घिसी ट्वाक’ बजारमा ल्याएको छ। प्रकाशक भूपेन्द्र खड्काका अनुसार दसैंमा पुस्तक बिक्री धेरै हुने गरेका छ।

‘नेपालमा पढ्ने संस्कार बढ्दै गएको छ। दसैंको छुट्टी पुस्तक पढेर सदुपयोग गर्ने पाठकलाई लक्षित गरेर हामीले पाँच वटा राम्रा पुस्तकहरु बजारमा ल्याएका छौं। नेपालमा पुस्तक बिक्री हुने तीन सिजनमध्ये दसैं एक हो,’ उनले भने,‘दसैं लक्षित गरेर पुस्तकको बजार बढेको छ।’

पब्लिकेसन नेपालयले दसैंलाई लक्षित गरेर केआर खुम्बुको ‘छायाँको लस्कर’, तीर्थ श्रेष्ठ ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको ‘काँडामा हाँसेको जिन्दगी’ र मुञ्जलको ‘सम्झनाको पाइलाहरु’ बजारमा ल्याएको छ। पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केका अनुसार दसैंमा पाठकसँग पैसा र फुर्सद हुने भएकोले पुस्तक बिक्री धेरै हुने गरेका छन्।

‘हामीले यसपटक दसैं लक्षित चार वटा पुस्तक पाठकसामु ल्याएका छौं। दसैंलाई लक्षित गरेर धेरै पुस्तक आएपनि पाठकको रोजाई केही पुस्तकमा मात्र हुने गरेका छन्। साहित्यिक पुस्तकहरू दसैंमा तुलनात्मक रुपमा धेरै बिक्री हुन्छन्,’ उनी भन्छिन्।

साहित्यकार उषा शेरचन दसैंमा तुलनात्मक रुपमा पुस्तक बिक्री हुने सम्भावना रहेको बताउँछिन्। आम पाठकलाई केन्द्रित गरेर लेखिएको पुस्तक ‘आधि’ ले बजार तताउने आशा गरेकी छन्। ‘अहिलेसम्म आधिले राम्रो प्रतिक्रिया पाइरहेको हुँदा पाठकको लागि यो दसैंको सही खुराक हुनसक्छ। फेरि दसैंमा पाठकसँग फुर्सद र पैसा हुने भएकाले पुस्तक बिक्री हुने सम्भावना देखेको छु,’ उनी भन्छिन्।

राजधानीको मित्रपार्कमा रहेको सन्तोष स्टेसनरीका सञ्चालक सन्तोष अर्याल साहित्यिक पुस्तकको बिक्री दसैंसँग बढ्ने बताउँछन्। उनका अनुसार दसैंअघि साहित्यिक पुस्तक खोज्न आउने ग्राहक तथा पाठकको रोजाईमा चलेका पुस्तक पर्ने गरेका छन्। ‘पुस्तक लेखकको नामका आधारमा साहित्यिक पुस्तक खोज्न आउने पाठक दसैंअघि धेरै हुन्छन्। यो सिजनमा धेरै पुस्तक एकसाथ आउने हुँदा ग्राहक कस्तो पुस्तक पढ्ने भनेर अन्यौल हुने गरेका छन्,’ उनले भने।

प्रकाशित: १६ आश्विन २०७६ ०३:३१ बिहीबार

पुस्तक दसैं