कला

ऐश्वर्याको सुन्दरता बिगारेको आरोप

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सामाजिक सञ्जालमा विवादित बनेकी छिन्। पेरिस फेसन विकअन्र्तगत अन्तर्राष्ट्रिय ब्रान्ड लोरियलको सोमा इटालियन डिजाइनरले तयार गरेको पहिरनमा देखिएकी अभिनेत्री रायलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आएका थिए।

हालै डिजाइनर विन्डिल रोड्रिक्सले पेरिस फेसन विकमा सहभागी भएकी अभिनेत्री ऐश्वर्या राय बच्चनको फोटो आफ्नो इन्स्टाग्राममार्फत सेयर गर्दै उनको लुक्सलाई लिएर प्रतिक्रिया दिएका थिए। ‘लोरियलसँग संसारको सबैभन्दा सुन्दर महिला छ र यही तरिकाले उनको मेकअप र ड्रेसअप गरिन्छ ?,’ लोरियनको ब्रान्डमाथि प्रश्न गर्दै उनले इन्स्टाग्राममा उल्लेख गरेका थिए, ‘यो पहिरनलाई हलोविन अर्को महिना आउँदैछ भनेर स्टाइलिस्ट नोट बनाए हुन्छ।’

फेसबुकमा सुन्दर अभिनेत्रीको सुन्दरता बिगारेर सोमा सहभागी गराएकोप्रति विभिन्न प्रतिक्रिया आएका थिए। अन्तर्राष्ट्रिय ब्रान्डले सुन्दर व्यक्तिको सुन्दरतालाई वेवास्ता गरेको टिकाटिप्पणी भारतीय डिजाइनरहरुले दिएका छन्।

पेरिस फेसन विकमा डेब्यु गरेकी अभिनेत्री राय इभा लन्गोरिया, केमिला कबेलो, हेलेन मिरेन र लिया क्याबेडेटसँग -याम्पमा देखिएकी थिइन्। प्रिन्टेड पहिरनमा देखिएकी अभिनेत्री राय पछिल्लो १८ वर्षदेखि लोरियल पेरिसको सद्भावना दूत समेत हुन्। सो ब्रान्डको प्रतिनिधित्व गर्दै उनी हरेक वर्ष फ्रान्समा आयोजना हुने कान्स फिल्म महोत्सवमा सहभागी हुँदै आएकी छिन्।

प्रकाशित: १५ आश्विन २०७६ ०३:३५ बुधबार

ऐश्वर्या_राय_बच्चन सुन्दरता