काठमाडौं – दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अहिले वेव सिरिजमा देखिन थालेकी छिन्। वेव सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ मा उनको अभिनय मात्र छैन यो उनैले निर्देशन गरेको वेव सिरिज हो। युट्युबमा आइरहेको सिरिजले राम्रो भ्युज पाइरहेको छ। अभिनेत्री कार्कीको निर्देशन डेब्यु रहेको यो सिरिज लैगिंक अल्पसंख्यक (एलजीबिटीक्यु) समुदायको कथामा केन्द्रित छ। अभिनेत्री कार्की र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको वेव सिरिज र निर्देशन डेब्यु र ब्यक्तिगत जीवन केन्द्रित भएर अभिनेत्री कार्कीसँग नागरिक दैनिकले गरेको कुराकानी:
निर्देशनमा डेब्यु, त्यो पनि वेव सिरिज र लैगिंक अल्पसंख्यकको विषय। किन ?
अमेरिकाबाट निर्देशन र स्क्रिन प्ले पढेर नेपाल फर्किएको आठ वर्ष भइसकेछ। यो अवधिमा विभिन्न फिल्महरुमा अभिनय गर्ने अवसर पाएँ। फिल्ममा अभिनय गरिरहँदा लैगिंक अल्पसंख्यकको विषयमा फिल्म वा वेव सिरिज आउनुपर्छ जस्तो महसुस हुन्थ्यो। नेपालमा इन्टरनेट प्ल्याट फर्मले चर्चा पाइरहँदा आठ महिनाअघि यो सिरिज बनाउने सोच आयो।
मेरो साथीहरु लैगिंक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छन्। उनीहरुलाई लैगिंक अल्पसंख्यक भनेर संज्ञा दिएर उनीहरुमाथि विभेद गरिरहेकोजस्तो लाग्छ। नेपालमा लैगिंक अल्पसंख्यकलाई तुलनात्मक रुपमा स्वागत गरिएपनि उनीहरुलाई स्वीकार्ने प्रवृति कम छ। आम मानिसले लैगिंक अल्पसंख्यक समुदायलाई स्वीकार्न प्रेरित गर्न नै यो वेव सिरिज बनाएको हुँ।
कति एपिसोड छ यो सिरिजको ?
यो वेव सिरिज दुई भागमा प्रसारण हुनेछ। पहिलो सिरिज आठ एपिसोडको हुनेछ। जसमा दुई केटीहरुको लभस्टोरी र द्वन्द्व वरपर केन्द्रित रहनेछ भने दोस्रो भाग उनीहरुको पारिवार र समाजमाथि केन्द्रित हुनेछ।
फिल्ममा अभिनय गरिरको अभिनेत्री। फिल्म मेकिङ पनि पढेको। फिल्म बनाउन सकिन्थ्यो र ?
सकिन्छ। तर पहिलो प्रयास भएकाले वेव सिरिजको प्ल्याटफममा काम गर्न सजिलो लाग्यो।
यो नेटफ्लिक्सको सिरिजबाट प्रभावित हो ?
कतैबाट प्रभावित भएको छैन। बरु यसलाई नेटफिसमा राख्ने तयारी भने गरेको थिएँ। तर, नेपालबाट अहिलेसम्म केही नराखिएकाले यो सिरिज युट्युबमार्फत प्रसारण गरेको हुँ।
अभिनय त दमदार देखिन्छ दुबैको है ?
सृष्टि सिरिजमा काम गर्न राजी भएपछि हामीले प्राकृतिक अभिनयलाई प्राथमिकता दियौं। प्रायः फ्रेन्च फिल्म हेरिरहने हुँदा मलाई प्राकृतिक अभिनयमा काम गर्न मनपर्छ। नेपाली फिल्ममा यस्तो खालको अभिनय गर्न खासै पाइदैन। प्राकृतिक अभिनय र लुक्समा केन्द्रित भएर सिरिज तयार गरेका छौं। फेरि म आफै पनि सिक्दैछु।
सिरिजमा अभिनयसँगै निर्देशन पनि तपाईकै छ। गार्हो भएन ?
निर्देशन गार्हाे हुने रहेछ। फिल्ममा अभिनय गरिरहँदा एउटा पात्रलाई ध्यान दिएर अभिनयमात्र गरे पुग्ने। निर्देशनमा त सबै आफैंले हेर्नुपर्नेहुँदा गार्हो हुने रहेछ। हाम्रो टिम सानो भएकाले अझ गार्हो भयो। तर, काम गर्न मजा आइरहेको छ।
तपाईंले अभिनय गरेको पात्रको तयारी कसरी गर्नुभयो ? प्रतिकृया कस्तो आइरहेको छ ?
सुरुवाती दिनदेखि यो वेव सिरिजको पात्रलाई सशक्त बनाउन सृष्टि र मसँगै बसेर काम गरेका थियौं। लैगिंक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने साथीहरुसँग कुराकानी गरेर दुवैले आ—आफ्नो पात्र अनुसारको भुमिका तयार पा¥यौं। लैगिंक अल्पसंख्यकमाथि बनेका फिल्महरु हे¥यौं। त्यसले सजिलो भयो। अभिनय राम्रो छ भन्ने प्रतिकृया आइरहेको छ।
महिला केन्द्रित फिल्म भनेको १० जना केटालाई पिट्ने फिल्म हो भन्ने बुझाई देखिन्छ। तपाईले निर्देशन गर्नुभएको वेव सिरिजमा त त्यस्तो केही छैन। यसले महिला पात्रलाई बलियो बनाएजस्तो लाग्छ ?
पुरुष निर्देशकले निर्देशन गरेका अधिकांश महिला प्रधान फिल्म र सिरिजमा पुरुषवादी दृष्टिकोण हाबी हुने गरेका छन्। महिला पात्रलाई न्याय दिन महिला निर्देशकहरूको संख्या बढ्नु अत्यावश्यक छ। त्यसबाहेक स्क्रिप्ट लेखन दमदार हुनुपर्छ। महिला निर्देशकले निर्देशन गरेका फिल्ममा बढी महिलावादी दृष्टिकोण आउनसक्छ। यो सिरिजको तयारी गरिरहँदा महिला पात्रहरू सशक्त हुनुपर्छ भन्नेमा जोड दिएको थिए। महिला निर्देशक भएर मैले सकेसम्म महिला पात्रहरुलाई न्याय दिएजस्तो लाग्छ।
निलु डोल्मा शेर्पासँग मिलेर फिल्म बनाउँदै हुनुहुन्थ्यो। उहाँको अकस्मात मृत्यु भयो। यो सिरिज त्यही हो ?
हो, हामीविच फिल्म बनाउने कुरा भएको थियो। तर यो प्रोजेक्ट भने हैन। तर उनले यो सिरिज बनाउन मलाई प्रेरित गरेकी थिइन्। कारण उनी मेरो साथीमात्र नभएर मेन्टरपनि थिइन्।
नेपालमा वेव सिरिजको सम्भावना कस्तो रहेछ ?
इन्टरनेटको पहुँच बढेसँगै नेपालमा वेव सिरिजको बजार बिस्तार हुँदै गएको रहेछ। राम्रो विषयवस्तुमाथि वेव सिरिज बनाउन सकिन्छ। पछिल्लो समय विकृतिलाई प्राथमिकता दिएका सामग्री धेरै आएकाले दर्शक विरक्तिएका छन्। मैले छनोट गरेको विषयवस्तुमा रुचि राख्ने दर्शक सिमित छन्। काठमाडौं, पोखरा र धरानलगायतका क्षेत्रका दर्शकले हाम्रो विषयवस्तुलाई वेवास्ता गर्छन भन्ने अनुमान पहिल्यै थियो। तर यो वेव सिरिज हेर्ने दर्शक बढेका छन्।
सिरिज निर्देशनको अनुभव भइहाल्यो। अब फिल्म निर्देशन गर्ने हो त ?
सन् २०२० मा फिल्म निर्देशन गर्छु। मलाई प्रयोगात्मक कथावस्तुमा काम गर्न मन पर्छ। यही विषयवस्तुको फिल्मको निर्देशन गर्छु होला।
अभिनेता आयुष्मानदेशराजसँग बैशाखामा इन्गेजमेन्ट गरेपछि असारमा विवाह गर्ने भन्नु भएको थियो ? असार त गइसक्यो त ? विवाहको मिति सरेको हो ?
हो। आयुष्मान र मैले आउटडोरको लोकेसनमा विवाह गर्ने योजना बनाएका थियौं। वर्षाको कारण विवाहको अर्को मिति तोक्न पाएका छैनौं।
प्रकाशित: १४ आश्विन २०७६ ०२:५८ मंगलबार