कला

जेनिफर र साकिरा एकसाथ

न्युयोर्क – गायिका जेनिफर लोपेज र साकिरा एकसाथ देखिने भएका छन् । सन् २०२० मा आयोजना हुने सुपर बाउल हाफटाइम सोमा गायिका जेनिफर लोपेज र साकिरा एकसाथ देखिने भएका हुन् । दुवै गायिकाले एकसाथ सांगीतिक प्रस्तुति दिने जानकारी आ–आफ्नो सामाजिक सञ्जालमार्फत गराएका थिए ।

एनएफएल, पेप्सी र रक नेसन्सले संयुक्त रुपमा आयोजना गर्न लागेको सोमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका गायिकाहरूसँगै देखिने टूंगो लागेको हो । सन् १९९० को दशकदेखि स्पेनिस र अंग्रेजी भाषामा गीत गाउँदै आएका दुई गायिकाहरु आगामी फेब्रुअरी २ मा फ्लोरिडाको हार्ड र स्टेडियममा आयोजना हुने सोमा देखिनेछन् । दुवै गायिकाका गीतहरू ल्याटिनको सांगीतिक चार्टमा हिट भएको थियो ।

‘यी दुई लोकप्रिय गायिकाहरु एकसाथ देखिने कुरा आफैंमा रोचक छ । कारण, यसले नयाँ उदाहरण स्थापित गर्नेछन र दर्शकका लागि युगको अविश्वसनीय प्रदर्शन हुनेछ,’ पेप्सीका मार्केटिङका उपाध्यक्ष, टोड कप्लानले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसअघि गायिका साकिरालाई आम्दानी गरेको १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेको थियो । फूटबलर पति गेरार्ड पिके र दुई छोराका साथ स्पेनमा बस्दै आएकी उनले सन् २०११ देखि २०१४ सम्म कर नतिरेको आरोप खेपेकी थिइन् । प्रतिरक्षामा उनले ठूलो आर्थिक आम्दानी अन्तर्राष्ट्रिय यात्राबाट हुने भएकाले ६ महिनाभन्दा बढी समय स्पेनमा नहुने दाबी गर्दै कर तिर्नुपर्ने प्रावधान हटाउनुपर्ने माग गरेकी थिइन् ।

प्रकाशित: १२ आश्विन २०७६ ०६:०३ आइतबार

जेनिफर_लोपेज