कला

एम्मी अवार्डमा ‘फ्लीब्याग’ को बर्चस्व

लस एन्जलस (एजेन्सी) – यस वर्ष सर्वाधिक चर्चा कमाएको ‘गेम अफ थ्रोन’ ड्रामाले एम्मी अवार्ड २०१९ को उत्कृष्ट ड्रामा सिरिजको अवार्ड जितेको छ। यो वर्षको एम्मी अवार्डमा ‘फ्लीब्याग’ र ‘चर्निबल’ सिरिजले धेरै अवार्ड जिते।

अमेरिकाको लस एन्जलसमा आयोजित अवार्ड समारोहमा ‘गेम अफ थ्रोन्स’ ले अवार्डमा चौथो पटक ड्रामा सिरिजको अवार्ड जितेको थियो। तर, बेलायती लेखक तथा अभिनेत्री फोबे वालर–ब्रिजले डार्क कमेडी ‘फ्लीब्याग’ को लागि समारोहमा सबैको मन जित्न सफल भइन्। ‘गेम अफ थ्रोन्स’ को अन्तिम सिजनले समारोहमा पिटर डिङ्क्लेज (उत्कृष्ट सहअभिनेता) सहित विभिन्न अवार्ड जितेको थियो। उत्कृष्ट कमेडी सिरिजको अवार्ड ‘फ्लीब्याग’ ले जित्यो।

‘यो सबै जर्ज आरआर मार्टिनको दिमागको कमाल हो, ’गेम अफ थ्रोन्सका निर्माता डेभिड बेनिफले लेखकलाई धन्यवाद व्यक्त गर्दै लेखेका थिए, जसको उपन्यासको आधारमा एचबिओ सो ड्रामा शृंखलाको निर्माण भएको थियो।

समारोहमा ‘फ्लीब्याग’ की अभिनेत्री फोबे वालर–ब्रिजले कमेडी विधाकी आठ पटककी विजेता अभिनेत्री जुलिया लुइस–ड्रेफसलाई उछिन्दै उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी थिइन्।

‘यो साँच्चिकै अद्भुत कुरो हो कि एक फोहोरी, रिसाह र काम बिगार्ने महिलाले पनि एम्मी अवार्ड पाउन सफल हुने रहिछन्,’लेखक तथा अभिनेत्री फोबे वालर–ब्रिजले डार्क कमेडी फ्लीब्यागको पात्रलाई उल्लेख गर्दै भनिन्। गत वर्ष अवार्डको मनोनयनमा पर्न असफल फ्लीब्यागले यसपटक भने दर्शकको साथ पाउन सफल भएको थियो।

ड्रामा सिरिजअन्तर्गत उत्कृष्ट अभिनेता बिली पोर्टर (पोज), अभिनेत्री जोडी कोमर (किलिङ एभ), सहअभिनेत्री जुलिया गार्नर (ओजार्क), निर्देशक ज्यासन ब्याट्म्यान (ओजार्क) र लेखक जेसी आर्मस्ट्रोङ (सग्सेसन–नोबडी इज एभर मिसिङ्ग) ले जितेका थिए।

कमेडी सिरिजमा भने उत्कृष्ट अभिनेता बिल हाडर (ब्यारी), सहअभिनेता टोनी साल्होब (द मार्वेलस मिसेज माइजल), सहअभिनेतत्री एलेक्स बोर्स्टीन (द मार्वेलस मिसेज माइजल) र निर्देशक ह्यारी ब्राडबियर (फ्लीब्याग–एपिसोड वान) ले घोषित हुँदै अवार्ड जितेका थिए।

यस वर्षको उत्कृष्ट टेलिभिजन फिल्म ‘बान्डर्स्न्याच’ घोषित भएको थियो। त्यस्तै उत्कृष्ट लिमिटेड सिरिज ‘चर्निबल’ घोषित भयो। समारोहअन्तर्गत लिमिटेड सिरिज तथा फिल्ममा उत्कृष्ट अभिनेता जारल जिरोम (ह्वेन दे सी अस), अभिनेत्री मिसेल विलियम्स (फोसरवेर्डन), सहअभिनेता बेन विसव (अ भेरी इंग्लिस स्क्याण्डल) र सहअभिनेत्री प्याट्रिसिया अर्क्वेटी (द याक्ट), निर्देशक जोन रेन्क (चर्निबल) र लेखन क्रेग माजिन (चर्निबल) ले जिते।

समारोहमा उत्कृष्ट प्रतिस्पर्धात्मक रियालिटी सिरिजको अवार्ड ‘रुपल्स ड्रेग रेस’ ले प्राप्त गर्न सफल रह्यो। त्यस्तै उत्कृष्ट भेराइटी टक सिरिजको उपाधि ‘लास्ट वीक टूनाइट विथ जोन ओलिभर’ ले जित्यो। भेसाइटी विधाअन्तर्गत स्केच सिरिजको अवार्ड ‘स्याटरडे नाइट लाइभ’, निर्देशक डन रोय किङ्ग (स्याटरडे नाइट लाइभ) र लेखन ‘लास्ट वीक टूनाइट विथ जोन ओलिभर’ ले जित्न सफल भयो।

प्रकाशित: ७ आश्विन २०७६ ०३:५६ मंगलबार

एम्मी_अवार्ड गेम_अफ_थ्रोन ड्रामा