कला

सुविदको नलाएको माया

काठमाडौं – नागरिककर्मी, गजलगो सुविद गुरागाईको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पित गरिएको छ। माता परिवारको निर्माणमा तयार पारिएको सो गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गजलगो बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलगो रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पित गरेका हुन्।

कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलगो गुरागाईका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए। सोही अवसरमा ‘नलाएको माया’ बोलको गजलमा चर्चित निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो पहिलोपल्ट सार्वजनिक गरिएको थियो।

गायक सत्यराज आचार्यको स्वर रहेको सो म्युजिक भिडियोमा कलाकारहरू सत्यराज आचार्य, लइमी बर्देबा र जोर्डन राजभण्डारीको अभिनय रहेको छ। कार्यक्रममा गजलगोहरू डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी, विपिन किरणलगायतले नेपाली गजलको साङ्गीतिक विकास क्रम र गुरागाईको गजलकारिताबारे विशेष चर्चा गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७६ ०४:३२ आइतबार

नागरिककर्मी सुविद_गुरागाई नलाएको_माया