कला

इतिहास बोल्ने क्यानभास

काठमाडौं- काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला? सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको दृष्य कस्तो थियो? प्रताप मल्लले स्वयम्भूमा बज्र दान गर्दा यज्ञ कसरी गरेका थिए? इतिहासका यस्ता पृष्ठ पढिरहँदा हाम्रो दिमागमा कस्ता दृष्य बन्छन् ? दृष्य बनेपनि त्यसलाई हामी प्रस्तुत गर्न सक्दैनौ।

इतिहासका यस्ता रोचक दृष्य जो हामीले कितावमा पढ्छौं त्यसलाई चित्रमा हेर्नेहो भने बबरमहल स्थित आर्ट काउन्सिल पुग्नुपर्ने हुन्छ। आर्ट काउन्सिलका भित्ताहरुमा आधुनिक र मध्यकालिन नेपालको इतिहास बोकेका ज्वलन्त तस्बिरले तपाईलाई कुरिरहेका छन्।

इतिहासका स्रोत के हुन् ? पुराना अभिलेख, शिलापत्र, ताम्रपत्र, जनश्रुती र अरु यस्तै जवाफ हामीले पाउँछौं। यिनै स्रोतका आधारमा इतिहासलाई लिपिबद्ध गर्ने गर्छन् इतिहासकारले। तर एक चित्रकारले नेपालको इतिहासलाई क्यानभासमा उतारेका छन्। उनी हुन् हरिप्रसाद शर्मा। ८२ वर्षिय चित्रकार शर्माले २५ वर्ष अघिदेखि बनाएका तस्बिरहरु लाई प्रदर्शन गरिएको उनका छोरा विष्णु शर्माले बताए। शर्माले बनाएका ४५ वटा तस्बिरहरु प्रदर्शनमा राखिएका छन्।

उनले बनाएका तस्बिरहरु हेर्दा लाग्छ, 'तस्बिरमा इतिहास आफै बोल्छ।' दर्शकलाई सजिलो होस् भनेर प्रत्येक तस्बिरको ऐतिहासिक वर्णन पनि छेवैमा राखिएको छ। काठमाडौं लगनका शर्माले इतिहास झल्कने चित्र मात्र बनाएका छैनन् उनले समाज र संस्कृतिलाई केन्द्रमा राखेर समेत चित्र कोरेका छन्। उनले बनाएका यि तस्बिरमा  गहन अध्ययन गरिएको देखिन्छ। त्यसको लागि उनको छोरा विष्णुले साथ थिए। अर्थशास्त्रका प्राध्यापक उनले आफ्नो पढाइको क्षेत्र भन्दा बाहिर रहेको इतिहास र संस्कृतिको क्षेत्रमा अध्ययन गरेर बुबाको कला क्षेत्रम सहयोग गरे।

काठमाडौं उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले कुमारीको गोडा ढोगे, उनको हातबाट टिका लगाएर उपत्यकाको संस्कृतिलाई अनुसरण गरे। इतिहासमा यो परिघटना कुटनीतिक र राजनीतिक हिसावमा निकै महत्वपूर्ण छ। साढे दुई सय वर्षभन्दा पहिलेको उक्त दृष्यलाई शर्माले कुची मार्फत क्यानभासमा उतारेका छन्। उनका चित्रहरु नियाल्दा इतिहासमा रुची हुनेहरुले आफुलाई त्यही ठाउँमा रहेर त्यो समारोह हेरिरहेको अनुभुति गर्नसक्छन्। उनले गम्भिर चित्र मात्र बनाएका छैनन् मनोरञ्जन दिन टोलटोलमा गरिने साँडे जुधाईका तस्बिरसमेत क्यानभासमा उतारेका छन्।

अहिले काठमाडौं कंक्रिटको जंगलमा रुपान्तण भइरहेको छ। शर्माको समयमा उपत्यका कस्तो थियो? उनले त्यो पनि उतारेका छन्। यो हेर्न आर्ट काउन्सिल पुग्नै पर्छ। रानीपोखरी भूकम्पपछि पुनर्निर्माणको पर्खाईमा छ त्यो पुरानो रानीपोखरी कस्तो थियो उनले यसलाई पनि तस्बिरमा उतारेका छन्। बाग्मती अहिले हेर्नै नसकिने गरि फोहोर बनेको छ तर उनले आफ्नो समयको बाग्मती बनाएका छन् जहाँ पानीका गाग्री बोकेर मानिसहरु घर तर्फ जाँदै छन्। आजको दुरअवस्था देखेका हामीलाई लाग्छ बाग्मती यस्तो थियो होला र?

आफ्नो बेलायत यात्रको क्रममा सुन्दरी लाउरा बेलको लागि राणा प्रधानमन्त्री जंगबहादुर राणाले अडाइ लाख पाउण्ड खर्च गरेको इतिहासमा पाइन्छ। उनै लाउससँगको रोमान्स पनि शर्माले तस्बिरमा देखाएका छन्। उनले कोरेका तस्बिर  नियाल्दा कुनै एक ऐतिहासिक सिनेमा हेरिरहेको अनुभुति हुन्छ। अर्थात उनले इतिहासलाई क्यानभासमा जिवन्त शैलीमा उतारेका छन्।

प्रकाशित: २५ भाद्र २०७६ ११:४३ बुधबार

इतिहास कला क्यानभास