कला

‘हेक्जागन’ मा आत्मीयता खोज्दै कलाकार

ललितपुर – कलात्मक विविधताको परिचय बोकेको ललितपुरस्थित एमक्युब ग्यालरीमा अनौठो हेक्जागन शैलीको सेतो आकृति झुन्डाइएको छ। नेपाली र विदेशी कलाकारले संयुक्त रूपमा बनाएको सो आकृतिमा स—साना चित्रकलालाई समेटिएका छन्। एमक्युब ग्यालरीले आयोजना गरेको ११ औं आवासीय कार्यशालामा सहभागी कलाकारहरूले बनाएको ‘हेक्जागन’ कला प्रदर्शनी सञ्चालन भइरहेको छ।

नेपाली र विदेशी कलाकारहरूले सहकार्य गरेर तयार गरिएको हेक्जागनले कलाको परिभाषालाई विस्तार गरेको बताइएको छ। चित्रकार मनिषलाल श्रेष्ठ, सिन्धया सिलवाल र लि टिट्जले संयुक्त रूपमा बनाएको कलाहरूको प्रदर्शनीमा संसारभरको सम्पदाको पहिचान र महत्व खोजिएको छ।

गत भदौ १३ देखि सुरू भएको प्रदर्शनीमा अष्ट्रियाकी लि टिट्जले तयार गरेको मल्टिमिडिया प्रोजेक्ट समेटिएको छ। उनले बारुलाको चाकालाई कलात्मक शैलीमा प्रस्तुत गरेकी छिन। ‘बारुलाले लाखौं वर्षअघिको सम्पदा र पहिचानलाई जोगाउँदै आएका छन्। हामी मानवले आफ्नो संस्कृति र इतिहासलाई जर्गेना गरेर अस्तित्वलाई जोगाउनुपर्ने देखिएको छ,’ उनले भनिन्। उनको कलामा नेपालको पौवा संस्कृतिलाई प्राथमिकता दिएको छ। उनले भिडियोमा कमिलाको क्रियाकलापलाई प्रस्तुत गरेकी छन्। ‘कमिला सानो प्राणी भएपनि मानिसको जस्तो अस्तित्व हुने भएकाले पहडा चढ्ने, बाटो बनाउने र सुरुङभित्र आफ्नो र परिवारको लागि बासस्थान बनाउने र त्यसरी मानिसले पनि काम गर्छन्,’ उनले भनिन्।

बारुलाले लाखौं वर्षअघिको सम्पदा र पहिचानलाई जोगाउँदै आएका छन्। मानवले आफ्नो संस्कृति र इतिहासलाई जगेर्ना गरेर अस्तित्वलाई जोगाउनुपर्ने देखिएको छ।

नेपाली कलाकार सिलवालले बनाएको कलामा नेपाली पत्रपत्रिका र म्यागजिनको प्रयोग गरेकी छिन। उनको चित्रले सकारात्मक भावना र सोचको माग गरेको छ। नेपालको अवस्थालाई हेर्दा हरेक क्षेत्रमा सकारात्मकभन्दा नकारात्मक सोच बढी भएकाले त्यसलाई हटाउने र चेतनाको स्तरलाई वृद्धि गर्ने माग आफ्नो कलामार्फत गरेको उनको भनाई छ। नेपाली पत्रपत्रिकासँग काम गर्न रमाउने चित्रकार सिलवालले एकातर्फ नेपाली कागजको टुक्रा र म्यागजिनको टुक्रालाई धागोको सहायताले बुनेर प्रस्तुत गरेकी छिन भने अर्कोतर्फ नेपाली कागजलाई षट्कोण आकारमा काटेर कलात्मक रुपले प्रस्तुत गरेकी छिन्।

आधुनिकताले छाएको अहिलेको समयमा पैसा नै सबैभन्दा ठूलो र पैसाले नै धेरै ठाउँ ओगटेको हुनाले त्यही विषयलाई चित्रमार्फत देखाउन खोजेको उनी बताउँछिन्। नेपालीले आफू जन्मेको माटो र अस्तित्वलाई भुल्दै गएको उनको अनुभव छ। ‘नेपालीको पहिचान र अस्तित्वलाई कलामा देखाउन नेपाली कागजको प्रयोग गरेकी छ,’ उनले भनिन्, ‘नेपाली कागजमा काम गर्दा मलाई रमाइलो लाग्छ। यसले मेरो जन्मभूमिको आभाष गराउने हुँदा आनन्दको अनुभव हुन्छ।’ आफूले काम गरेको हेक्जागन आकारले चेतनाको स्तरलाई देखाएको र यसले देश विकासमा योगदान दिने तर्क उनले गरिन्।

विदेशी कलाकारसँग काम गर्दा नयाँ अनुभव बटुल्न पाएको उनले बताइन्। नेपाली र विदेशी कलाकारको काम उस्तै भएपनि प्रस्तुति फरक हुने गरेको अनुभव उनले गरेकी छिन्। प्रदर्शनी आगामी भदौ २८ सम्म चल्नेछ।

प्रकाशित: २५ भाद्र २०७६ ०४:२८ बुधबार

कलाकार हेक्जागन_शैली