कला

दोहोरी गाउँदै चर्चा बटुल्दै कमला

धादिङ – धादिङकी ११ वर्षीय कमला घिमिरे सामाजिक सञ्जालमा विभिन्न दोहोरी गीत गाएर चर्चा बटुल्दै छिन्। सामाजिक सञ्जाल युट्युवमा पछिल्ला दिन उनीले गाएको दोहोरी गीत हेर्ने र सुन्नेको संख्या बढेको छ।

लोकदोहोरी कलाकारको गीतको तुलनामा उनले गाएका गीतको भिडियो युटयुवमा चर्चा बटुल्न लागिपरेको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर – १२ सांकोषमा जन्मिएकी उनले विद्यालयमा आयोजना हुने गरेको विभिन्न कार्यक्रममा गीत गाउने गरेको थिइन्। आफूहरू मजदुरी गर्ने हुँदा गाउँमा आयोजना हुने पर्व र विवाहलगायत कार्यक्रममा उनले गीत गाउने गरेको उनकी आमा देवकी घिमिरे बताइन्। ‘छोरीको राम्रो स्वरको कारण चर्चा पाइरहेकी छिन्। भगवानले छोरीको प्रतिभालाई चिन्यो,’ उनले भनिन्, ‘गीत संगीत भनेपछि हुरुक्कै हुने मेरी छोरी रेडियो र टिभीमा बज्ने गरेको विभिन्न गीतको भाका हुबहु टिप्न माहिर छन्।’
हे ! सानैदेखि हुर्के म काखमा..

नरोऊ आमा, म छु नि साथमा..
चौतारीको वर, पीपलुको भर,

छैन परपर, मलाई माया गर ..
कमलाले परिवारबाट सम्पर्कबिहीन भएका बुबाको कारण आमाले समाजबाट पाएको पीडा उनले गीतमार्फत प्रस्तुति गरेकी छिन्।

नीलकण्ठ नगरपालिकाको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत उनी आमाले गरेको संघर्षलाई नियाल्दै गीतका रूपमा प्रस्तुत गर्ने गरेको बताउँछिन्।

पछिल्लो समय रिजालडाँढामा आयोजित तीज विशेष कार्यक्रममा गीत गाएपछि उनीले युट्युवमा चर्चा पाउन थालेकी थिइन्। सो कार्यक्रममा कमलाले ‘आकाशमा चिल घुम्यो फनन्..कान्छा तिम्रो नाम के हो भनन्..’ गीत गाउँदै गरेको भिडियो युट्युवमा राखिएका छन्। सामाजिक विषयवस्तुमा आधारित सो गीत युट्युवमा राखिएलगत्तै उनीमाथि केन्द्रित रहेर विभिन्न भिडियोहरू बाहिरिएको थियो।

सामाजिक सञ्जाल युट्युवमा कमलाले गाएको गीतलाई हेर्न दर्शकको संख्या बढ्दै गएपछि उनीकी आमा देवकी भन्छिन्,‘दोहोरी गाएर उनले आफ्नो क्षमता प्रस्तुत गरिरहेकी छिन्। आर्थिक अवस्थाका कारण उनको प्रतिभालाई प्रस्तुत गर्ने अवसर सिर्जना गर्न सकेको छैन्। उनले गाएको गीत हेरेर यहाँसम्म उनलाई भेट्न आउने मानिसको संख्या बढेको छ,’ उनले भनिन्। आमाको माया र प्रेरणाको कारण कमलाले पढाई र संगीतलाई निरन्तरता दिने सोच बनाएको उनी बताउँछिन्।

प्रकाशित: २५ भाद्र २०७६ ०४:०५ बुधबार

दोहोरी गाउँदै