काठमाडौं – व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण क्यानडामा सुरू गरेका छन्। आइतबार क्यानडाको राजधानीमा आयोजित कार्यक्रममा कवि चौधरीले एकल कविता वाचन गरेका थिए।
एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन फेरि सुरू गरिएको विश्व काव्ययात्राको दोस्रो चरण उनले डेढ दर्जन कविताहरू वाचन गरे। यो विश्व काव्ययात्राको १८ औं शृंखलाको हो।
कार्यक्रमको आयोजना क्यानडास्थित नेपाली साहित्य समाजले गरेको थियो। उनले ‘माग्दिन प्रभु म, तिम्रो स्वर्ग देऊ’ कविताबाट कार्यक्रमको सुरूवात गरेका थिए। कार्यक्रममा उनले प्रेम, देशको समकालीन राजनैतिकदेखि सामाजिक अवस्था र प्रकृतिमाथि लेखेका कविता वाचन गरेका थिए।
‘आफैंविरुद्ध’ शीर्षकको कविता वाचन गर्ने क्रममा कवि चौधरीले भने, ‘स्मृति भन्ने कुरा यस्तो हुन्छ, नसम्भूँm भन्दा पनि आइरहन्छ। मीठो होस् वा नमीठो वियोग, सम्झनाले मानिसलाई आफूले छोडेर आएको समय, मानिस र अवस्थाको बोध गराइरहन्छ। र, यसैलाई समातेर गन्तव्य पहिल्याउन प्रेरणा दिइरहन्छ।’
सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको विश्व काव्ययात्रा यसअघि बेलायत, भारत, जापान र अस्ट्रेलियालगायत देशमा पुगेर सम्पन्न भइसकेको छ। कार्यक्रममा ‘म सन्देश लिएर आएको छु’ कविता वाचन गर्नुअघि उनले भने, ‘हामीबीच कुनै भेद् छैन्। हामी एउटै मुटुका धड्कन हौं। कहिले त्यहाँ धड्किन्छौँ, कहिले यहाँ धड्किन्छौँ। हामीले सुन्न सक्नुपर्छ ती आवाजहरूलाई, अनि बुझ्छौँ, यी आवाजमा एउटै संगीत बजिरहेछ। त्यसैले अब म उताको संगीतसँग समाहित गर्दै मेरो यो मुटुको स्पन्दनबाट निस्केको एउटा कविता यहाँहरूलाई सुनाउँछु।’ त्यसलगत्तै विश्व काव्ययात्राको नयाँ शृंखला अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर ११, भर्जिनियामा सेप्टेम्बर १५ मा आयोजना हुँदैछ।
प्रकाशित: २४ भाद्र २०७६ ०४:०८ मंगलबार