कला

लोक स्टारमा टप १० प्रतिस्पर्धा

काठमाडौं  – गायन रियालिटी सो ‘नेपाल लोक स्टार’ को टप १० प्रतिस्पर्धीहरूबीच सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। ३६ शृंखलाको रियालिटी सोको फाइनल प्रतिस्पर्धाका लागि टप १० प्रतिस्पर्धीहरू छनोट भएको जानकारी मंगलबार प्रेस विज्ञप्तिमार्फत आयोजकले गराएको थियो।

रियालिटी सोमा बिनोद दनुवार, चेतन गोतामे, दीपेन्द्र राई, मुना अर्याल, पबिन्द्र सुनार, प्रभुराज पाण्डे, रामकुमार नेपाली, रविराज शाह, शनि विश्वकर्मा र सुशील आचार्य टप १० मा छनोट भएका छन्। यसअघि आयोजकले राजधानीसहित धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी र पोखरामा अडिसनमार्फत तीन सय ५० प्रतिस्पर्धीहरू छनोट गरेको थियो।

गायिका सुनिता दुलाल, जयनन्द लामा, रामजी खाँड र बिबी अनुरागीको निर्णायक टोलीले प्रतिस्पर्धीहरूमार्फत उत्कृष्ट २५ छनोट गरेका थिए। प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० मा एपी वान र डिस होम रमाइलोमा प्रसारण भइरहेको नेपाल लोक स्टारको विजेताले ५० लाख रुपैयाँ, फस्ट रनर अपले २५ लाख रुपैयाँ र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यसबाहेक तीज जना विजेताहरूले एल्बम निकाल्न पाउनेछन्। ‘नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा प्रस्तुत गरिएको यो रियालिटी सोले लोक संगीतका प्रतिभालाई प्ल्याटफम दिएको छ,’ गायिका सुनिता दुलाल भन्छिन्।

 

 

प्रकाशित: १८ भाद्र २०७६ ०७:३० बुधबार

लोक_स्टार प्रतिस्पर्धा