कला

कलाका विविध बान्की

काठमाडौं - कलासम्बन्धी कक्षा लिइरहेका विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले सिर्जना कलेज अफ फाइन आर्टस्का ६ जना विद्यार्थीका विभिन्न कला प्रदर्शनीमा राखिएको छ। भदौ १२ गते बिहीबारदेखि नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शन भइरहेको ‘ब्याचलर अफ फाइन आर्टस् सो’ नामक युवा चित्रकारका कलामा सामाजिक, पर्यटकीय र औद्योगिक अभियानलाई समेटिएको छ।

चित्रकारहरूले विभिन्न कार्टुनमार्फत बालश्रमविरुद्धको अभियान र भिजिट नेपाल २०२० लाई लक्षित गर्दै नेपालका पर्यटकीय स्थलहरूलाई चिनाउन सुन्दर ठाउँको तस्बिरलाई पोस्टरमार्फत प्रदर्शनीमा राखेका छन्। त्यस्तै, नेपालको प्राकृतिक सौन्दर्य र नेपालमा पाइने जडीबुटी, मसलाहरूलाई पनि पोस्टरको सहायतामा प्रदर्शनीमा राखिएको छ। ६ जना चित्रकारले फरकफरक कार्टुन क्यारिकेचरलाई प्रस्तुत गरेका छन्।

२२ वर्षीय चित्रकार मृगेन्द्रनारायण श्रेष्ठले विविधतामा एकता नामक शीर्षक राखेर विभिन्न जातजाति, धर्म, संस्कृतिका महिलाहरू एउटै धागोमा बाँधिएको दृश्यलाई पोस्टरमा उतारेका छन्। साथै वसन्तपुरमा देखाइने नाच र हिमालका अग्ला चुचुरोलाई उनको कलामा देख्न सकिन्छ। विभिन्न जातजाति, रीतिरिवाज, संस्कृतिले भरिपूर्ण नेपाल निकै रमणीय छ भन्ने भाव उनको कलामा पाउन सकिन्छ। उनी आफ्नो कलालाई पर्यटन उद्योगलाई कसरी उकास्न सकिन्छ भन्ने कुरामा लक्षित गरेको बताउँछन्।

नेपालमा उत्पादन भएका सामग्रीलाई कसरी प्रदर्शन गर्ने र कसरी बजारसम्म पु¥याउने भन्ने सन्देश चित्रकार विरोचन मल्लको कलामा पाउन सकिन्छ। उनले नेपालमै भए पनि धेरै नेपालीलाई थाहा नभएका जडीबुटी, मरमसलाका ६ वटा आइटम (सिल टिमुर, जेठी मधु, गिम्वु, लङ् पेपर, गोडामर्च र कालो जिरा)लाई ‘सरजम’ शीर्षक राखेर प्रस्तुत गरेका छन्।

‘नेपालमा उत्पादित सामग्रीलाई आकर्षक तरिकाले डिजाइन गरेमा बढी बिक्री गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यी सामग्रीलाई प्रदर्शनीमा राख्नुको उद्देश्य मेरो ज्ञानलाई अरूले पनि सेयर गरून् र नेपालमा उत्पादित सामग्री बजारसम्म पु¥याऔं भन्ने हो।’

त्यस्तै, ‘कार्टुन एन्ड क्यारिकेचर’ शीर्षकलाई ६ जना चित्रकारले मनोरञ्जनात्मक शैलीले प्रस्तुत गरेका छन्। प्रदर्शनीमा समावेश ‘ट्राफिक सचेतना अभियान’लाई ट्राफिक नियमको पालना गरौं, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौंलगायतका विषय समेटिएको छ।

पोस्टर र कार्टुनसँगै विभिन्न चित्रकारको आर्टलाई पनि प्रदर्शनीमा राखिएको छ। २३ वर्षीय युवा चित्रकार परमेश्वर खड्का आफ्नो कलामा विभिन्न रङको प्रयोग गरी मानिस र चराचुरुङ्गीबीचको मित्रतालाई चित्रमा उतारेका छन्। उनका ६ वटा चित्र प्रदर्शनीमा छन्। मानिसको टाउकोमाथि चराको तस्बिर कोरेर उनले दुईबीचको मित्रतालाई प्रस्ट्यान खोजेका छन्।

अर्को तस्बिरमा उनले जोगीको चित्र बनाई जिन्दगीमा रमाइलो गर्नुपर्छ, सधैं पीर, चिन्ता लिनुहँुदैन भन्ने सन्देश दिएका छन्। आफ्ना प्रदर्शित चित्र देखाउँदै खड्का भन्छन्, ‘पेन्टिङ कुनै विषयवस्तुसँग सम्बन्धित भएर एउटा उद्देश्यसहित कोरिन्छ, तर यहाँ पेन्टिङ के हो भनेर दर्शकलाई बुझाउनै गाह्रो छ, धेरैले पेन्टिङलाई पोस्टरसँग तुलना गरिदिन्छन्।’

चित्रकार मञ्जिला रिजालले अमेरिकन चित्रकार फ्रिडा काइलोको जीवनसँग सम्बन्धित रहेर उनकै तस्बिरलाई चित्रमा उतारेकी छन्। काइलोले जीवनमा गरेको संघर्षले नै आफ्नो मन छोएको र उनकै तस्बिर कोर्न पुगेको उनको भनाइ छ। त्यस्तै, उनको अर्काे तस्बिरमा रङमार्फत नकारात्मक सोचलाई रातो रङ र सत्यलाई सेतो रङले प्रस्तुत गरिएको छ। उनको अर्को चित्र अलि छुट्टै किसिमको छ, जहाँ काँडेतारको प्रयोग गरिएको छ।

उनले काँडेतारमार्फत एउटा रूखको आकृति बनाएकी छन्, जसको फेदमा माटो र स–साना ढुंगाले छोपिएको छ। तारको बीचबीचमा पैसाका टुक्रा छन्। उनी त्यो रूखलाई मनी प्लान्टसँग तुलना गर्दै पैसा कमाउन निकै संघर्ष गर्नुपर्ने बताउँछिन्। जसरी मानिस मनी प्लान्टलाई सामान्यरूपमा लिन्छन्, त्यसरी नै त्यो मनी प्लान्ट जटिल भएको र पैसा कमाउन काँडैकाँडामा हिँड्नुपर्ने उनको भनाइ छ।

सिर्जना कलेज अफ फाइन आर्टस्का शिक्षक विजय महर्जन कला प्रदर्शनीको मुख्य उद्देश्य चार वर्षसम्म अध्ययन गरेका विद्यार्थीको क्षमता प्रदर्शन गर्नु रहेको बताउँछन्। विद्यार्थीले सिकेको ज्ञान र उनीहरूको विचार बाहिर ल्याउनु र देशका समसामयिक विषयलाई कलामा समेट्नु प्रदर्शनीको अर्को उद्देश्य हो। प्रदर्शनी भदौ १८ गतेसम्म चल्नेछ। 

प्रकाशित: १७ भाद्र २०७६ ०२:३८ मंगलबार

कला नेपाल_आर्ट_काउन्सिल चित्रकार