कला

पाँचथरमा ‘हिपहप’

हिपहप नृत्य प्रतियोगिताको अवसरमा प्रस्तुति राख्दै गायक विरेन्द्र श्रेष्ठ सहितका कलाकारहरु । तस्बिर: गिरिराज/नागरिक

पाँचथर– फिदिमको जिसस परिसरमा रहेको सिटिहलमा तन्नेरीहरु खचाखच भरिएको थिए। तन्नेरीहरु आवाजले हललाई उचाली रहेका थिए। गर्मीको समयमा पसिना निस्कने गरी नाँच्ने र उफ्रने भीडमा एक प्रकारको रौनक देखिन्थ्यो। नुतन फेसनमा सजिएका तन्नेरी माँझ ढल्किदै गरेकाहरु पनि रमाउँदै थिए।

यहि बेला उद्घोषकले गायक विरेन्द्र श्रेष्ठलाई मञ्चमा बोलाए। इलेक्ट्रोनिक इन्जिनियर रहेका श्रेष्ठको गायकको रुपमा परिचित छन्। परिचित गायकको अनुहार देखेपछि दर्शकहरुले आवाजले साथ दिए। दर्शकको साथ पाएका श्रेष्ठले ‘आउन माया भेटौन’ गीत गाएर दर्शकलाई खुसी तुल्याए। त्यसपछि उनको चर्चित गीत घर हाम्रो लेकैमा गाउँदै दर्शक र अतिथिलाई नचाए। उक्त अवसरमा श्रेष्ठले आफ्ना केहि गीत गाएर मनोरञ्जन दिएका थिए।

यो सञ्जोक ‘हिपहप’ नृत्य प्रतियोगिताले जुटाएको हो। पश्चिमा सँस्कृतिको रुपमा रहेको हिपहप नृत्य सदरमुकाम फिदिममा प्रतियोगिताको रुपमा आयोजना भएको थियो। स्थानीय फ्युजन डान्स सेन्टरले आयोजना गरेको प्रतियोगितामा देशका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए। दुई दिनसम्म हिपहप नृत्यको प्रशिक्षण  भएको थियो।

भारतीय कलाकार धुब्र सरकारले प्रशिक्षण गरेका थिए। प्रतियोगितामा बुटवलका साजन गुरुङ प्रथम भए। झापाको युएमबिसि ग्रुप द्धितिय र बुटवलकै संगम थापा तृतिय भए। विजेता प्रथम, द्धितिय र तृतियले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद र ट्रफि प्राप्त गरेका थिए। वेष्ट डान्सर नयन तामाङ, सुमिना मगर घोषित भए। प्रतियोगितामा २५ गु्रपको सहभागिता थियो। सोहि अवसरमा नृत्य प्रशिक्षक हरि थापा मगर सम्मानित समेत भए।

प्रतियोगिताको अवसरमा परीक्षक धुब्र सरकारको प्रस्तुतिले ‘वाउवाउ’ प्राप्त गर्यो । उनी हिपहप इन्टरनेशनल २०१८ का सिल्भर मेडलसमेत हुन्। सोहि अवसरमा बालकलाकार आयुस र अन्सु गुरागाईले आकर्षक नृत्य प्रस्तुत गरे। सोहि अवरमा सिमान्त केरुङले पनि प्रस्तुती राखेका थिए। प्रतियोगिता र साँस्कृतिक कार्यक्रम २ लाख ६० हजार खर्चिएर सम्पन्न गरिएको कार्यक्रम संयोजक मिलन विश्वकर्माले जानकारी दिए। 

प्रकाशित: १ भाद्र २०७६ १२:४० आइतबार

पाँचथर नृत्य हिपहप